विराटनगरः नेपाल तरुण दलले वर्तमान सरकारलाई महङ्गी, बलात्कार र भ्रष्टाचारतर्फ उन्मुख रहेको जनाएको छ । यस्तै कार्यलाई वर्तमान सरकारले आफ्नो चामत्कारिक काम ठानेको तरुण दलले जनाएको छ ।
प्रदेशस्तरीय विरोध कार्यक्रममार्फत् तरुण दलले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको हो । विराटनगर उपमहानगरको गेटबाट शुरु भएको प्रदर्शन महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले देउवा सरकारले गरेका निर्णय उल्टाएर सरकारले गल्ती गरिरहेको बताए ।
सरकार नसच्चिए सडकबाटै सरकार ढल्ने बस्नेतले दाबी गरे । निर्मला पन्त बलात्कारको छानबिन गर्न, महङ्गी नियन्त्रण गर्न र वाइड बडी घोटालाको न्यायिक छानबिन गर्न तरुण दलले माग गरेको छ ।
विगतमा काङ्ग्रेसलाई कमजोर सोच्दा र प्रजातन्त्रमाथि धावा बोल्दा सडकबाटै सत्ता परिवर्तन भएको भन्दै बस्नेतले सरकारलाई आफ्नो कार्यशैली सुधारेर अगाडि बढ्न सल्लाह दिए ।