इटहरीः नेपाली काङ्ग्रेस प्रदेश नं १ का सचेतक सूयर्माराज राईले चुरे क्षेत्रको विनाशमा प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

दैनिक रूपमा चुरे विनाश बढ्दै गएकाले तराईको क्षेत्र मरुभूमिकरण बन्ने खतरा भएको भन्दै उनले सरकारले यस विषयमा ध्यान दिनुपर्ने उनले बताए ।

चुरे विनाश र त्यसको असरको बारेमा सरकारले जनतालाई जागरुक गराउनुपर्ने उनको भनाइ थियो । चुरे विनाशले जमीन र जङ्गलको अस्तित्व हराउँदै गएकाले यसले भोल मानव अस्तित्व नै खतरामा पर्ने उनको भनाइ छ ।

तराईका जमिनको लागि मल र जलको भरपर्दो स्रोत मानिएको चुरे क्षेत्र विनाश हुँदै गर्दा तराईका जमिनमा कृषिउपजको उत्पादन कम हुन थालेको उनले बताए । अनियन्त्रित रूपमा हुने खोला दोहनदेखि जङ्गलको बीचमा खोलिएका क्रसर उद्योगले वातावरणीय प्रतिकूलता निम्त्याएको उनको भनाइ छ ।

पर्यटकीय हिसाबले पनि आकर्षक मानिएको चुरेक्षेत्रको विनाशले प्रदेश सरकारको कृषि तथा पर्यटनको विकासमार्फत् समृद्ध प्रदेश बनाउने अभियानमा असर गरिरहेको उनी बताउँछन् । त्यसैले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न पनि चुरे दोहन रोक्न लाग्नुपर्ने उनको भनाइ छ ।

‘हामीले आफ्नो पुस्ताको लागिमात्र होइन भावी पुस्ताको लागि पनि स्वच्छ वातावरण बनाइदिन जरुरी छ,’ उनी भन्छन्, ‘त्यसको लागि अहिल्यै देखि गम्भीर भइएन भने भोलिको पुस्ताले हामीलाई धिक्कार्नेछ । त्यसैले सरकार अब गम्भीर बन्नैपर्छ ।’