इलामः इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका ७ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

जिल्ला अदालत इलामका अनुसार असुल हुन बाँकी रहेको १६ लाख ३६ हजार ५ सय २५ रुपैयाँ जरिवाना रहेको छ । त्यस्तै, १ वर्ष २० दिन कैद सजाय भुक्तान हुन बाँकी रहेको जनाइएको छ । ७ जना फरार अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

पक्राउ पर्नेमा १५ लाख १६ हजार ६ सय ८८ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकिएका वन मुद्दाका रोङ गाँउपालिका–५ इरौटारका ५१ वर्षीय नेत्रबहादुर मगर रहेका छन् । त्यस्तै, चोरी मुद्दामा २० दिन कैद र ३७ हजार ८ सय ३७ रुपैयाँ जरिवाना तोकिएका सप्तरी खडक नगरपालिका–१ स्थायी घर भई सूर्योदय नगरपालिका–१० बस्ने ३१ वर्षीय वीरेन मल्लिक छन् ।

हातहतियार मुद्दामा ८० हजार रुपैयाँ जरिवाना तोकिएका सूर्योदय नगरपालिका–७ का २६ वर्षीय सन्तोष पौडेल, गाली बेइज्जती मुद्दामा फरार माइजोगमाई–४ का महेश्वर आचार्य, कृष्णप्रसाद भट्टराई, भीष्म भट्टराई र मिलन भट्टराईलाई जनही ५ सय रुपैयाँ जरिवाना तोकिएको तर उनीहरू फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ ।