उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशु बधशाला ९ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ ।
त्रियुगा नगरपालिकाले ८ लाख रुपैयाँको लागतमा २०६६ सालमा निर्माण गरेको चार कोठे सो पशु बधशाला केही महिनामै प्रयोगविहीन बनेको थियो । त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्काका अनुसार बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरी बधशाला नदी किनारमा निर्माण गरिएकाले मासु व्यापारी र उपभोक्ताले प्रयोग गर्न असहज मानेको बताउँछन् । अब गाईघाट बरुवा क्षेत्रमा ठूलो पशु बधशाला निर्माण गर्ने योजना रहेको पनि उनले जनाए ।