धरान/ थुप्रै धराने रंगकर्मीको अभिनय रहेको चलचित्र रोमियो एन मुना शुक्रबारदेखि देशभरका फिल्म हलमा रिलिज भएको छ ।
यो फिल्मको अधिकांश दृश्य प्रदेश १ को धरान, इटहरी, भेडेटारको नाम्जेलगायत क्षेत्रमा सुटिङ भएको थियो । फिल्मकर्मीका अनुसार ८० प्रतिशत सुटिङ पूर्वमा नै भएको हो । धरानका अग्रज रंगकर्मी एवं कलाकार पानस गुरुङ, तुलसा थापा, दीपेन्द्र सिं दर्नाल, अश्विन सुवेदी, विष्णु मोक्तानलगायत पर्दामा देखिँदैछन् ।
पछिल्लो समय धरानको रंगमञ्चमा उदाएका कतिपय प्रतिभाशाली कलाकारको यो डेब्यु फिल्म हो । तिनैमध्येकी एक हुन्, धरान ५ देउरालीकी २१ वर्षीया तुलसा थापा । उनले भनिन्, ‘फिल्मबाट एकदमै उत्साहित छु । नर्भस पनि भइरहेको छु ।’
रंगमञ्चमा उनले दर्शकको अघि थुप्रै नाटकमा आफनो अभिनय देखाइसकेकी छिन् । तर ठूलो पर्दा (चलचित्र)मा भने पहिलो हो । चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ (पूर्व मिस नेपाल) नायक तथा नायिका छन् । तुलसा नायिकाकी बहिनीको भूमिकामा चलचित्रमा देखिएकी छिन् । त्यसैले पर्दामा उनी छाउनेछिन् ।
यसअघि उनले आरम्भ नाट्य डबलीको फेरि अर्को लंका ध्वस्त हुने छैन, रंगभूमि एकेडेमीको अब टाउको कहिले हल्लन्छ र इङघङमा बेजोडको अभिनय पस्किएकी थिइन् । पछिल्लो समय नाटक इङघङमा दलित महिलाको अभिनयबाट उनले प्रशंसा बटुलेकी थिइन् ।
‘थिएटर र फिल्ममा निकै फरक हँुदो रहेछ । थिएटरमा वान टेकमा निरन्तर अभिनय गर्नुपर्छ । फिल्ममा त धेरै टेक लिनुपर्दो रहेछ,’ उनले भनिन् । करिब डेढ वर्षअघि फिल्म युनिट उनी अध्ययनरत नेशनल एकेडेमीमा अडिसन लिन पुगेका थिए ।
अग्रज रंगकर्मी कुलचन्द्र न्यौपाने चलचित्र रोमियो एन मुनाको कारण प्रदेश १ मा पनि फिल्म उद्योगको लागि प्रशस्त सम्भावना छ भन्ने उजागार गरेको बताउँछन् । पूर्वको लोकेशन, पूर्वकै थुप्रै कलाकार पनि भएकाले फिल्मले पूर्वेली दर्शकबाट माया पाउने उनले अपेक्षा गरे ।
चेसुङ, छिमेकी, निनीलगायतमा अभिनय गरिसकेका न्यौपानेले भने, ‘यो फिल्मले प्रदेश १ लाई नै फिल्म स्टुडियोको लागि प्रवद्र्धन गर्छ, यहाँका कलाकारहरूको प्रतिभा, कलालाई उजागर गर्छ ।’