खोटाङः पानीको मुहान संरक्षणका लागि खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले ६ वटा ‘रिचार्ज’ पोखरी निर्माण गरेको छ ।

जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जान थालेपछि वडा नम्बर–१ फेदीमा पाँच र वडा नम्बर–३ दिप्सुङमा एउटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।

वर्षाको पानीबाट हुने जमीन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षण गर्न आर्थिक वर्ष २०७४÷ ०७५ मा विनियोजित रकमबाट रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । अहिले अधिकांश पानीको मुहान सुक्दै गएको हुनाले पानीको मुहान संरक्षण गरी प्रत्येक नागरिकलाई सहज रूपमा स्वच्छ पानी उपलब्ध गराउन हामी लागि परेको उनले बताए ।

पर्यायवरण संरक्षणका लागि सो गाउँपालिकाको फेदीमा २० हजार र दिप्सुङमा ४० हजारको लागतमा रिचार्ज पोखरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पानीको मुहानको शिरमा वर्षाको पानी जमाउने र जमीनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी उपयोगी हुने दाबी गाउँपालिकाको छ ।