झापाः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सन् २०१८ मा १२ लाख पर्यटक आएका हुनाले सरकारी लक्ष्य पूरा हुने उनले बताए ।
मन्त्री अधिकारीले सन् २०१९ को अगष्टतिर भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने उनको भनाइ थियो । सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य पर्यटकको ओइरो लाग्ने उनले दाबी गरे ।
९ वटा विमानस्थलमा रात्री उडान हुने, बन्द विमानस्थल खुलाइने
यसै वर्षदेखि मुलुकका ९ वटा विमानस्थलमा रात्री उडान हुने पनि उनले बताए । बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने बताउँदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई देशको सरकारी (जीटुजी) प्रक्रियामार्फत् अघि बढाउने बताए । निजगढमा विमानस्थल बनाउँदा कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो ।
मन्त्री अधिकारीले रात्री उडान र बाह्य उडान गर्नका लागि स्तरोन्नति भइरहेको झापाको चन्द्रगढी विमानस्थल तथा किचकबधलगायत ४ वटा पर्यटकीयस्थलको निरीक्षणसमेत गरेका थिए ।