इटहरी/ नेपालमा शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने परामर्श कम्पनीका पाँच संस्था पहिलो पटक एउटै मञ्चमा बसेका छन् । यसरी उनीहरू एउटै मञ्चमा आउनुको कारण हो, शैक्षिक परामर्शमा वैदेशिक लगानीलाई सरकारले रोकोस् भन्ने चाहनु ।
आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आइरिनका अध्यक्ष कुमार कार्की, नायरका महासचिव विज्ञान श्रेष्ठ, फेकनका अध्यक्ष युवराज कटुवाल, इक्यानका अध्यक्ष विष्णुहरि पाण्डे, जाल्सानका प्रथम उपाध्यक्ष झमकलाल श्रेष्ठ र इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले एउटै मञ्चबाट एउटै स्वरमा भने, ‘नेपालमा विदेशी लगानी भित्र्याउन हुँदैन ।’
उनीहरूले यो क्षेत्रमा अहिले नै सरकारले नियमन गर्न जरुरी रहेको र विदेशी लगानी आउँदा यो क्षेत्रमा थप समस्या निम्तिने भन्दै पत्रकार सम्मेलन गरेका हुन् ।
आइतबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा विदेशी लगानी भित्र्याउनु हुँदैन ।’
विज्ञप्तिमा थपिएको छ, ‘वैदेशिक लगानी भित्र्याउँदा लगानीसँगै अनेक विकृति भित्रिनेछन् । अनावश्यक अस्वस्थ प्रतिस्पर्धा, नेपाली विद्यार्थीमाथि अनावश्यक बोझ तथा भ्रम, नेपाली विद्यार्थी विदेशिने क्रमको बढोत्तरीलगायतका समस्याले नेपाली समाजमा जरा गाड्नेछ ।
हामी समुन्नत नेपाल र उज्ज्वल समाज निर्माणमा प्रतिबद्ध छौँ । विदेशमा गएर ज्ञान लिएर नेपाली युवाले देशको विकास गर्नुपर्छ भन्ने कुरामा प्रतिबद्ध छौँ । भोलिको सुन्दर समाज निर्माण र शिक्षित नेपाली समाजको परिकल्पनाका लागि यो क्षेत्रमा विदेशी लगानी अभिशाप बन्ने छ ।’
यो उत्पादनमूलक क्षेत्र नभएकाले पनि यसमा विदेशी लगानी ल्याउन नहुने उनीहरूको तर्क छ ।