सोलुखुम्बुः हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
जिल्लासहित आसपासका क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे हुँदा अत्यधिक चिसो महसुस गरिएको छ ।
मङ्गलबार रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ ।
हिमपातका कारण बुधबार सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका थिए । सोलुखुम्बुतर्फ आउने जीप भने ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरे पनि दिउँसो भने अधिक हिमपातका कारण सवारी साधनले बाटो पार गर्न नसकेर रोकिएका हुन् । दर्जनाँै जीप तथा मालवाहक ट्रकसमेत पत्तालेमा रोकिएका थिए ।
केही यात्रु भने पैदलै ठाडेदेखि पत्ताले र पत्तालेबाट ठाडे गएका गएका स्थानीय भाइचुङ शेर्पाले बताए । बुधबार सडकमा १ फिट भन्दा बढी हिउँ जम्मा भएको थियो ।