सोलुखुम्बुः सोलुखुम्बु जिल्लामा सञ्चालित २ वटा विमानस्थलबाट बुधबार कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
मौसम प्रतिकूलताका कारण कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले बताए ।
उनका अनुसार हिजो बुधबार फाप्लु विमानस्थलमा तारा एयरको एउटा उडान तालिका भए पनि उडान हुन सकेन । यस्तै फाप्लु स्याङ्बोचे कार्गो सेवासमेत बन्द भएको छ ।
तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार बुधबार २० वटा उडान तालिका भए पनि कुनै पनि उडान हुन सकेनन् । नागरिक उड्डयन प्राधिकरण लुक्लाले दिएको जानकारीअनुसार तारा एयरको १०, सीता र समिटको ५÷५ वटा उडान तालिका थियो तर ती कुनै पनि उडान भएनन् । यस्तै हेलिकोप्टरलेसमेत उडान भर्न नसकेको बताइएको छ ।
बुधबार दिनभर सोलुखुम्बुको माथिल्लो क्षेत्रको पूरै भू–भाग कुहिरोले ढाकेको थियो । हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको खुम्बु पासङल्हामु गाउँकार्यपालिकाका सदस्य उमा बराइलीले बताइन् ।
सोलुखुम्बुको पत्ताले, पिकेडाँडा, तामाखानी, रातनाङ्गी, स्यालगुडी, डाँडाखर्क जुनबेंसीसहित माथिल्लो क्षेत्र खुम्बु हिउँले ढाकेको छ ।