खोटाङः प्रदेश नं १ की सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छिन् ।

आफ्ना लागि सर्वस्व दिने आमाको सम्मानमा छोरीले पनि कपाल मुण्डन गर्न पाउनु समाजका लागि नौलो भए पनि ठूलो कुरा नभएको उनले बताइन् ।

‘समाजमा रहिआएको लैङ्गिक विभेद अन्त्य गर्नका लागि कपाल मुण्डन गरेर सेतो वस्त्र धारणले आफूमा उर्जा मिलेको छ,’ उनले भनिन्, ‘जीवन दिने आमाको निधनले जति नै पीडा भए पनि मृत्यु स्वीकार गर्नुको विकल्प नभएकाले आफ्नै आत्मसन्तुष्टिका लागि र दिवङ्गत आत्माको चीर शान्तिका लागि कपाल मुण्डन गरेर किरियापुत्री बसेकी हुँ ।’

खोटाङको दिक्तेलमा आयोजित पत्रकार भेटघाटमा सांसद राईले छोराले मात्र काजकिरिया गर्न हुने तर छोरीले नहुने भन्ने मान्यतामा परिवर्तन हुन जरुरी रहेको बताइन् । छोराछोरी दुवै सन्तान भएकाले छोरा र छोरी दुवैले बुबाआमाको काजकिरिया गर्न मिल्ने उनको तर्क थियो ।

छोरीले आमाको किरिया बस्दा कपाल मुण्डन गरेर र सेतो वस्त्र लगाएरै काजकिरियामा बस्नुपर्छ भन्ने नभई आ–आफ्नो तरिका र इच्छा अनुरुप बस्दा उचित हुने पनि उनले बताइन् ।

मुलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, सांस्कृतिक तथा संस्कारमा परिवर्तन आउन नसकेकाले अबको पहिलो काम सामाजिक–सांस्कृतिक पाटो सुधार गर्नुपर्ने उनको भनाइ थियो । सांसद राईकी आमा लक्ष्मीको ७५ वर्षको उमेरमा गत पुस २५ गते निधन भएको थियो ।

सांसद राईले गरिन् आमाको नामा अक्षयकोष स्थापना
सांसद राईले आमाको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरीब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतिका लागि सहयोग गर्न अक्षयकोष स्थापना गरेकी छिन् । आमाको १३ औँ दिनको पुण्यतिथिको अवसर पारेर गरिएको श्रद्धाञ्जलीसभामा उनले कोष स्थापना गरेकी हुन् ।