उर्लाबारीः मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ ।

रमितेलाई कृषि क्षेत्रका रूपमा अघि बढाइरहेको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । गाउँपालिकाले रमितेका १ सय २४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण गरेको छ । त्यस्तै, १० हजार रुद्राक्षका बिरुवा वितरण गर्ने तयारी भइरहेको बताइएको छ । भोजपुरबाट खरीद गरी ल्याइएका १० हजार बिरुवा वडा नं १ का उपभोक्तालाई वितरण गरिने वडाध्यक्ष नरबहादुर राईले जनाए ।

गाउँपालिकाको १ लाख ५० हजार, प्रदेश सरकारको १ लाख ५० हजार र स्थानीयवासीको ३ लाख रुपैयाँ लगानीमा रुद्राक्षको बिरुवा खरीद गरिएको जनाइएको छ । पहिलो चरणमा १० हजार बिरुवा वडा नं १ मा वितरण गर्ने र सम्भावनाको आधारमा अन्य वडामा पनि वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

सो क्षेत्रमा अलैँची, अम्लिसोलगायतका प्रमुख नगदेबाली उत्पादन हुने गरेको छ । प्रदेश नं १ का १४ वटै जिल्ला देख्न सकिने मिक्लाजुङ डाँडा रमणीय हुनुका साथै धार्मिक क्षेत्र मानिन्छ ।

पर्यटनको प्रचुर सम्भावना रहेको रमितेमा राज्यको आँखा भने नपुगेको शिक्षक पर्वत राई बताउँछन् ।