सोलुखुम्बुः सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध भएको छ ।

बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडाँै सडकमा हिउँ जमेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा राजधानी काठमाडाँै, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले बताए ।

उनका अनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुन सक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको ढाडेमा र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई जिल्लाको बाघखोरमा रोकेर राखिएको छ ।

पत्ताले क्षेत्रमा बुधबारदेखि ४ वटा मालवाहक ट्रक फसेको प्रहरी चौकी पत्तालेका हवल्दार विजय शिवाले बताए । उनका अनुसार ती मालवाहक ट्रक मोडमा फसेका छन् । जेसीबीले तान्ने प्रयास गरिए पनि सफल हुन सकेको छैन । मौसममा सुधार आए पनि सडकको भागमा घाम लाग्न नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सडक यातायात सञ्चालन हुन नसक्ने भएपछि यात्रु अलपत्र परेका छन् । बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जीपमार्फत् बाघखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन् । आकस्मिक काम परेका यात्रुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ ।