तेह्रथुमः लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा बिहीबार आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।
लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटाको गारो र जस्ताको छानो भएको २ तले घर पूर्ण रूपमा नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा छेउका २ घरमा समेत क्षति भएको छ । छिमेकी रेनुका गुरुङ र फूलमाया गुरुङको घरमा समेत क्षति पुगेको हो ।
प्रहरीका अनुसार आगो निभाउने क्रममा स्थानीयवासी ५० वर्षीय गोपाल गुरुङ घाइते भएका छन् । उनको स्थानीय वसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
मकलको आगोबाट भयो आगलागी
साँझ करीब पौने ५ बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो । पेट्रोल र ग्यासको समेत व्यापार गर्ने शाहको पसलमा मकलको आगो भुइँमा खस्दा आगो सल्किएको र आगलागी भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको केन्द्रमै भए पनि समयमा दमकल नआउँदा थप क्षति भएको स्थानीयले बताए । स्थानीयवासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणको प्रयास गरेका थिए । पछि दमकल, स्थानीयवासी तथा प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।