ओखलढुङ्गाः नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेवि सङ्घ पनि फुटेको छ । जसका कारण जिल्लामा नेवि सङ्घका २ कार्यसमिति गठन भएका छन् ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरूले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा रोशन महतरा निर्वाचित भएको घोषणा गरेका छन् । सम्पन्न १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा महतारा निर्वाचित भएको घोषणा गरेका हुन् ।

महताराको अध्यक्षतामा २४ सदस्यीय नेवि सङ्घ जिल्ला कार्य समिति गठन गरिएको काङ्ग्रेस जिल्ला सचिव रुद्र अधिकारीले जनाए । उनका अनुसार अधिवेशनबाट जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भीष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुइँटेल निर्वाचित भएका छन् ।

पौडेल पक्षका नेविसङ्घमा गोविन्द कोइराला

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरूले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा गोविन्द कोइराला निर्वाचित भएको घोषणा गरेका छन् । बुधबार छुट्टै अधिवेशन गरेर कोइरालाको अध्यक्षतामा नयाँ समिति घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा विनोद निरौला, सचिवमा सुरेश ढुङ्गेल, सहसचिवमा हरिकुमार लुइँटेल, कोषाध्यक्षमा यमुना दाहाल लगायतका १९ सदस्यीय समिति गठन गरेको नेता बालकृष्ण दाहालले बताए । दुवै गुटका नेताहरूले आफ्नो पक्षको समिति वैधानिक भएको बताएका छन् ।