इलामः इलामको फाकफोकथुम गाउँपालिकाको माटोमा अम्लीयपन बढी भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा किसानले ल्याएको माटोको नमुना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो ।

८० जना किसानको माटोको नमूना परीक्षण गर्दा अम्लीयपनाको मात्रा धेरै पाइएको कृषि विकास शाखा फाकफोकथुमका कुशेश्वर यादवले बताउनुभयो । यस गाउँपालिकाका वडाहरू १, ३, २ र ६ को माटो परीक्षण गरिएको थियो ।

त्यसैगरी, शिविरमा ५० किसानले बाली उपचार गराएका थिए । सुन्तला, कागती र अलैँची बालीको उपचार गरिएको थियो । पछिल्लो समय सुन्तला, कागती र अलैँचीमा देखिएको रोग निदानका लागि कृषि प्रमुख यादवले निमराज, नीलोतुथो र कृषि चुनको प्रयोगलाई बढाउँदै लैजानुपर्ने सुझाव दिए । माटो शिविरमा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकालाई तीन÷चार वर्षमा रासायनिक मलमुक्त बनाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउँदै लैजानेमा जोड दिए ।

रासायनिक मलको प्रयोगले नागरिकको स्वास्थ्यमा समेत असर पर्दै गएकाले गाउँकार्यपालिकाको बैठकबाटै रासायनिक मललाई प्रतिबन्ध लगाउने नीति अवलम्बन गरिने उनले बताए ।

ग्रामीण क्षेत्रमा उत्पादन हुने सागसब्जी, अन्नबाली पूर्ण जैविक बनाउन सके यसको बजारीकरणमा पनि कुनै समस्या नहुने कृषि प्राविधिक वसन्त भट्टराईको भनाइ छ । यस क्षेत्रका किसानले विशेषगरी अदुवा, गहुँलगायत बालीमा युरिया, डिएपी, पोटासजस्ता रासायनिक मलको प्रयोग गर्दै आएका छन् ।