इटहरीः तराईका जमिनको उर्वरको स्रोत मानिएको चुरे क्षेत्र दिनानुदिन विनाश हुँदै गइरहेको छ । काठ तस्करीदेखि क्रसर उद्योगको मारमा चुरे परेको छ । देशैभर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालनमा आए पनि चुरेको विनाश भने रोकिएको छैन ।

वनक्षेत्र समुदायको मातहतमा आएसँगै चुरेको जङ्गल मासिने क्रम बढिरहेको छ । जसको ज्वलन्त उदाहरण हो सुनसरी सामुदायिक वन । सो सामुदायिक वनको क्षेत्रभित्र पर्छ राष्ट्रिय संरक्षण (रास) ताल । तर ताल आसपासको क्षेत्र पछिल्लो समय सुख्खा बन्दै गएको छ । दैनिक रूपमा बढ्दो फँडानी र संरक्षणको अभावमा जङ्गल विनाश भएको स्थानीय युवा उद्धव लिम्बू बताउँछन् ।

उनका अनुसार ताल आसपासको क्षेत्रमा वन फँडानीले तीव्रता पाएको छ । काँचो रुख काट्दा कारवाही हुने भएका हुकँदै गरेका रुखका बोक्रा खुर्कने र सुकेपछि बिक्रीग र्ने गरेको पाइएको छ । तालको आसपासको क्षेत्र मात्र होइन जङ्गलको बीचबीचमा पनि त्यसैगरी रुखको बोक्रा खुर्कने काम भइरहेको छ । जसका कारण जङ्गल हरियो होइन खैरो देखिन थालेको छ ।

सो सामुदायिक वनका अध्यक्ष विष्णु लिम्बू आफूलाई यस विषयमा थप जानकारी नभएको बताउँछन् । आफूहरूले त्यसको बारम्बार निगरानी गरिरहेको तर ताल संरक्षण समितिले ताल बिस्तार गर्दा जङ्गल फँडानी गरेको उनी बताउँछन् ।

उता, रास ताल संरक्षण समितिका अध्यक्ष राजेश लिम्बू भने सामुदायिक वनको लापरबाहीले वन फँडानी भइरहेको बताउँछन् । सामुदायिक वनको नाममा काठ तस्करी मौलाउँदै गएको उनको तर्क छ । आफूहरूले त्यही जङ्गल र ताललाई देखाएर पर्यटक भित्र्याइरहेको तर सामुदायिक वन उपभोक्ता समिति जङ्गलको संरक्षणमा नलागेको उनको भनाइ छ ।

यसरी एकले अर्काको आरोप लगाउँदै रास ताल आसपासको जङ्गल क्षेत्र दैनिक विनाश हुँदै गएको छ । जसका कारण सो स्थानमा पाइने जलचर र थलचर प्राणी लोप हुन थालेका छन् । पानीको मुहान पनि सुक्न थालेको स्वयम् राजेश लिम्बू स्वीकार्छन् ।

त्यस्तै हाँसपोसा समुदायिक वनको पनि अवस्था त्यस्तै छ । जहाँ इटहरी उपमहानगरको फोहोर फ्याँक्ने गरिएको छ । जसको कारण जङ्गल क्षेत्र विनाश हुँदै गएको छ । जङ्गल क्षेत्रमा फालिएको फोहोर खान आएका जङ्गली जनावरको तस्करी पनि हुने गरेको छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र गिरी जङ्गलमा पाइने चित्तल, हरिण, बँदेल, दुम्सीलगायतका वन्यजन्तु लोप हुन थालेको बताउँछन् । गिरीका अनुसार वन समितिको अनुमतिबिना नै उपमहानगरले फोहोर फ्याँकिरहेको छ । केही समय अगाडि फोहोर फ्याँक्छौ भनेर मागेको तर अनुमति नदिई पछि सल्लाह गरौँला भन्दै धमाधम फोहोर थुपार्ने गरेको गिरीको भनाइ छ ।

यसरी स्वयम् सरोकारवाल निकाय र वनको संरक्षक नै भक्षक बनेपछि चुरे क्षेत्रको विनाश बढ्दै गएको छ भने तस्करहरू त्यही अनुपातमा मौलाउँदै गइरहेका छन् ।

jungle  (2) jungle  (3)