इटहरीः कर्मचारी समायोजनका लागि गरिएको आह्वान अनुसार कर्मचारीले समायोजन फर्म भर्दा प्रदेश नम्बर १ तेस्रो स्थानमा परेको छ ।
प्रदेश नं १ मा ९ हजार २ सय ९० जनाले समायोजनको लागि फारम भरेका थिए । ७ वटा प्रदेशमध्ये प्रदेश नम्बर ३ मा सबैभन्दा धेरैले समायोजनको लागि रोजेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर ३ मा समायोजन हुन १३ हजार ६ सय ८४ जनाले फारम भरेका छन् ।
त्यस्तै, दोस्रो नम्बर प्रदेश नं ५ मा समायोजन माग भएको छ । सो प्रदेशमा १० हजार ४ सय ४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन् ।
गण्डकी प्रदेशमा ७ हजार ९ सय ८४, प्रदेश नं २ मा ६ हजार ९ सय २७ र कर्णाली प्रदेशमा ५ हजार २ सय ६ जनाले फाराम भरेका छन् । सबैभन्दा कम सुदूर पश्चिम प्रदेशमा समायोजन हुन ५ हजार ९८ जनाले फाराम भरेका छन् ।
समायोजनका लागि प्रदेशमा ५८ हजार ६ सय २३ जनाले फारम भरेका थिए । प्रदेशको कुल दरबन्दी २२ हजार ७ सय ५५ मध्ये आधाभन्दा बढीले प्रदेश नं ३ रोजेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो । स्थानीय तहमा तीन लाख ५४ हजार २ सय २५ जनाले समायोजनका लागि फाराम भरेका छन् ।
स्थानीय तहतर्फ सबैभन्दा बढी अर्थात् ७ हजार २ सय १२ जना कर्मचारीले काठमाडौं महानगरपालिकामा समायोजन हुन फाराम भरेका छन् ।