इलामः इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो ।
स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९÷७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९÷७० मा पहिरो नियन्त्रणका लागि रु ३५ लाख, आर्थिक वर्ष २०७०÷७१ मा रु २२ लाख र आर्थिक वर्ष २०७१÷७२ मा रु १९ लाख ६७ लाख खर्च भएको थियो ।
पहिरो नियन्त्रणको काम पूरा भएपछि पहिले पहिरो गएको क्षेत्रमा हरियाली छाएको स्थानीय बताउँछन् । पहिरो शुरु भएको क्षेत्रबाट तारजाली लगाई बग्न नदिएको र अन्य क्षेत्रमा बाँस तथा अन्य बिरुवा रोपिएको थियो ।
विसं २०२५ को भदौ, असोज र कात्तिक महिनामा आएको अविरल वर्षापछि पहिरो नियन्त्रण बाहिर गएको थियो । पहिरो नियन्त्रण बाहिर गएपछि साङ्रुम्बा क्षेत्रका ३ सयभन्दा बढी परिवार विस्थापित भएको स्थानीय धर्मप्रसाद जबेगूले बताए ।
विसं २०२५ मा २० घर दलित समुदाय र ३२ घरधुरी आदिवासी जनजाति समुदाय विस्थापित भएका थिए । पुवाखोलाबाट शुरु भएको पहिरोको लम्बाइ १ हजार ५ सय मिटर र चौडा ९ सय मिटर रहेको रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर राईले बताए ।
‘सटके पहिरो’ नामले चिनिएको पहिरो नियन्त्रणको कार्यक्रम शुरु भएको वर्ष केही मात्रामा पहिरो बगे पनि अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको सो पहिरो २०११ सालदेखि बग्न थालेको स्थानीय बताउँछन् । २०२५ सालमा भने त्यसले ठूलो रूप लिएको थियो ।