इटहरीः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता चाहिँदैन देश टुक्र्याउन पाइँदैन भन्दै नारा लगाएका छन् । सङ्घीयताले देश कङ्गाल बनाउन लागेको भन्दै सङ्घीयता खारेज गर्नुपर्ने उनले बताए ।
अखिल नेपाल जनजाति सम्मेलनको चौथो महाधिवेशनको उद्घाटन गर्दै केसीले सङ्घीयता देशको लागि गलपासो भएको बताए । कार्यक्रममा उनले जातीय र क्षेत्रीय रूपमा जनतालाई विभाजन गर्ने काम सङ्घीयताले गरेको बताए ।
सबै जातिका शोषितको मुक्ति नभई कुनै पनि जातिको मुक्ति नहुने भन्दै उनले जनतालाई भ्रम पार्न एउटा जाति र अर्को जातिबीच विवाद सिर्जना गर्ने काम भइरहेको बताए ।
‘अब गरिब र निमुखाले राज्यसत्ता चलाउन पाउनुपर्छ’, उनले भने, ‘सबै जातिका शोषकले आआफ्नो जातिका शोषितमाथि हौवा फैलाइरहेका छन् । तिनीहरूका विरुद्धमा एक हुने बेला आएको छ ।’
मुलुकमा रहेका जातिबीच लडाइँ गराउने तथा तराई र पहाडलाई अलग गराउने खेल नै सङ्घीयता रहेको उनको भनाइ थियो ।
‘सङ्घीयताका नाममा नेपाललाई नाइजेरिया र सुडान बनाउने खेल हो,’ उनले भने, ‘सङ्घीयता खर्चकै अभावमा ध्वस्त हुन्छ । केन्द्रीय सरकारको मातहतमा रहने गरी स्थानीय सरकारलाई पावरफुल बनाउँदा सबैभन्दा उत्तम विकेन्द्रीकरण हुन्छ ।’
एउटा हवाइजहाज किन्दा ४ अरब ३५ करोड घोटाला गर्ने अनि समृद्धि हुन्छ भनेर आश गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।
काठमाडांैका जनतालाई त मेलम्चीका नाममा ४५ वर्ष झुलाए भने कुनाकन्दराका जनतालाई कल्पना गर्न नसक्नेगरी झुलाउने र भ्रष्टाचार गर्ने केसीले बताए ।
उनले भने, ‘मेडिकल माफिया र शैक्षिक माफियाका अगाडि कसैको केही लागेन ।’