इटहरीः शुक्रबार संसदबाट पास भएको चिकित्सा शिक्षा विधयेक सभामुखको गम्भीर त्रुटिका कारण ‘अवैधानिक’ हुने सम्भावना बढेको छ ।

बारम्बार संसदीय अभ्यासमा त्रुटि गरेको भन्दै आलोचित बनेका सभामुख कृष्णबहादुर महराले शुक्रबार विधयेकको दफा २ देखि ५३ सम्मलाई विधेयकको अङ्ग बनाउने क्रममा गम्भीर त्रुटि गरेका हुन् ।

महराले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयक बनाउने क्रममा दफा २ देखि ५३ सम्मलाई विधेयक अङ्ग बनाइयोस् भन्ने प्रस्तावमा ध्वनि मत मागेका थिए । ध्वनि मतमा स्पष्ट रूपमा ‘हुन्छ’ भन्ने प्रस्तावमा बहुमत आएको थियो । तर सभामुख महराले आत्तिँदै बोल्ने क्रममा ‘हुन्न’ भन्ने प्रस्तावमा बहुमत भएको घोषणा गरे ।

तर महाराले हुन्न भन्ने मतमा बहुमत आएको बताए पनि पुनः दफा २ देखि ५३ सम्मलाई विधेयकको अङ्ग भएको घोषणा गरेका थिए । घोषणा गर्ने क्रममा सत्तापक्षको सांसदको लहरमा बसेका पूर्वासभामुख सुवास नेम्वाङ, नेकपा नेता भीम रावल र नेकपा महासचिव विष्णु पौडेलले कानेखुसी गरेको देखिन्छ ।

अन्य सांसदले भने महाराको उक्त व्यवहारलाई ‘सामान्य’ नै ठानेको देखिए तापनि नेम्वाङ, रावल र पौडेलले भने विधयेक पास हुञ्जेलसम्म पनि सोही विषयमै कानेखुसी गरेको देखिन्छ ।

बैठकमा काङ्ग्रेसले गरेको नाराबाजीको क्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि शुरुमा महराले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अङ्ग बनाइयोस् भन्ने प्रस्तावमा छलफल गराउन शुरु गरेका थिए ।

सभामुख महराले संसद बैठक शुरु भएको ३५ मिनेट १५ सेकेण्डमा भनेका छन्, ’अब म विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अङ्ग बनोस् भनी प्रस्ताव पेश गर्दछु । यो प्रस्तावमा सहमत हुने मान्य सदस्यले हुन्छ भन्नुस् । असहमत हुने मान्य सदस्यले हुन्न भन्नुस् ।’

सभामुख महराले हुन्छ भन्ने मान्य सदस्यले हुन्छ भन्नुस भनिसक्न नपाउँदै संसदमा ‘हुन्छ’ भन्ने आवाज गुञ्जयमान भयो । हुन्न भन्ने विषयमा आवाज आउँदैन । तर हुन्न भन्ने आवाज नआउँदा पनि सभामुख महराले लगत्तै भनेका छन्, ‘हुन्न भन्ने मान्य सदस्यको बहुमत देखिएकाले विधेयकको दफा २ देखि ५३ सम्म चिकित्सा शिक्षा विधयेक २०७५ को अङ्ग भएको घोषणा गर्दछु ।’

संसदीय इतिहासकै गम्भीर त्रुटि
सभामुख महाराले गरेको त्रुटि संसदीय इतिहासकै गम्भीर त्रुटि भएको अधिवक्ता तथा एमालेका पूर्व सांसद रेवतीरमण भण्डारीले बताए । भण्डारीले भने, ‘अरु विषयमा सामान्य त्रुटि हुनु सामान्य विषय हो तर विवादित विधेयकको अङ्ग बनाउने क्रममै त्यस्तो गल्ती हुनु भनेको इतिहासकै गम्भीर त्रुटि हो ।

हेर्नुहोस् भिडियो: