तेह्रथुमः बिहीबार साँझ तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा भएको आगलागीबाट पीडित भएका परिवारलाई नगरपालिकाले ८ लाख ७५ हजार रुपैयाँ राहत प्रदान गरेको छ ।

आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटोको गाह्रो र जस्ताको छानो भएको तीन तले घर र अन्य धनमाल पूर्णरुपमा क्षति हुँदा ४० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए ।

यस्तै, याख्खाको घर भाडामा लिई पसल गर्दै आएका छेतेन शाहको कैलाश किराना पसल पूर्ण रूपमा नष्ट हुँदा ३१ लाखको क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका क्रममा छिमेकी मीनकुमारी गुरुङको २ तले कच्ची घर भत्किँदा रु २५ लाख र रेनुका खड्काको घर भत्किँदा रु २० लाखको क्षति भएको मुचुल्का गरिएको प्रहरी निरीक्षक पौडेलले बताए ।

यस्तै नजिकैको घरमा पसल गर्ने नेतकुमार याख्खाको सौन्दर्य सामग्री पसलमा समेत ५ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घाइते भएका गोपाल गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका थिए ।

कसले कति पाए स्थानीय सरकारको राहत रकम

आगलागीबाट पीडित परिवारलाई लालीगुराँस नगरपालिकाले राहत वितरण गरेको छ । नगरकार्यपालिकाको निर्णयअनुसार आगलागी पीडित परिवारलाई तत्कालै ८ लाख ७५ हजार रुपैयाँ राहत विरतण गरिएको नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए ।

नगरपालिकाले घर पूर्ण क्षति भएका लालबहादुर याख्खालाई ४ लाख, घर क्षति भएका मीनकुमारी गुरुङलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, रेनुका खड्कालाई १ लाख ५० हजार तथा पसलमा क्षति पुगेका नेतकुमार याख्खालाई १ लाख राहत वितरण गरेको छ ।

घाइते गोपाल गुरुङलाई उपचारका लागि २५ हजार राहत वितरण गरिएको छ । पीडितलाई शुक्रबार साँझ एक कार्यक्रमका बीच नगर प्रमुख अर्जुन माबोहाङ र उपप्रमुख तिला पोखरेलले राहत प्रदान गरेका हुन् । यस्तै नगरपालिकाकै अगुवाइमा राहत सङ्कलन अभियान सञ्चालनसमेत हुने भएको छ । वसन्तपुर बजारसहित नगरपालिका क्षेत्र र छिमेकी बजारमा समेत राहत सङ्कलन गर्ने कार्यक्रम तय भएको प्रवक्ता खड्काले जानकारी दिए ।