इटहरी/ स्वदेशी दाताले दिएको जग्गामा विदेशी दाताले बनाएको सांस्कृतिक भवनको पुस्तकालय रित्याउन थालेपछि इटहरी उपमहानगरको सर्वत्र आलोचना भएसँगै उपमहानगरले आफ्नो निर्णय फिर्ता लिएको छ ।
पुस्तकालयका पुस्तकहरू एकपछि अर्को गर्दै बाँडेर सक्ने अनि त्यहाँ प्रशासनिक भवन बनाउने उपमहानरको निर्णय फिर्ता भएको मेयर द्वारिकलाल चौधरीले बताए । उनले भने, ‘पुस्तकालय हटाउने कुनै पनि निर्णय भएकै छैन । अब अरुले लगेका पुस्तकहरू पनि फिर्ता मागिन्छ ।’
पुस्तकालय भवन जीवन्त राख्ने मेयरको निर्णयको कला, साहित्य र संगीत क्षेत्रका अगुवाहरूले प्रशंसा गरेका छन् । चिन्तक मोहन तिम्सिनाले उपमहानगरको पछिल्लो निर्णय सही भएको बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘इटहरी सरकारले सांस्कृतिक भवन र पुस्तकालयबारेको पूर्व निर्णय फिर्ता लिएछ । धन्यवाद । अब यस्तो त्रुटि नहोस् । जे उद्देश्यले यो बनेको हो, त्यसैमा प्रयोग होस् ।’
यसरी दबाबमा आयो स्थानीय सरकार
भवन र कोठाहरू अपुग भएको भन्दै इटहरीको स्थानीय सरकारले धमाधम भवन खाली गर्दैथियो । इतिहास बोकेको पुस्तकालय खाली गर्न पुस्तकहरू समेत बाँडिएको थियो । तोकादेश र सामान्य निवेदनका आधारमा विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पुस्तक बाँडिएको थियो । यो कुरा एक हप्ता अगाडि बाहिरियो ।
भताभुङ्ग पुस्तक र लथालिङ्ग पुस्तकालयको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । जसको सबै क्षेत्रबाट चर्को आलोचना भयो । खासगरी, इटहरीका कला, साहित्य र संगीत क्षेत्रका व्यक्तित्वहरूले यसको चर्को आलोचना गरेका थिए । पुस्तकालयको महत्व नबुझेर सांस्कृतिक भवनको पुस्तकालय रित्याएर प्रशासननिक भवन राख्न लागेको भन्दै देशभरबाट सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
इटहरीका चिन्तक, संगीतकार तथा लेखक मोहन तिम्सिनाले त यसलाई ‘सास्कृतिक कु’ नै भनेका थिए । इटहरीको सांस्कृतिक भवन निर्माण गर्ने अभियान समूहका सदस्य तथा इटहरी साहित्य समाजका अध्यक्ष कृष्णविनोद लम्सालले पुस्तकालय रित्याउनु ‘बौद्धिक दरित्रताको पराकाष्ठा’ भएको भन्दै एक लामो लेखै लेखेका थिए ।
यस्तै, कवि बद्री भिखारीले सांस्कृतिक भवनको पुस्तकालयमा राखिएका नयाँ र पुराना दाताले दिएको पुस्तक संरक्षण गर्नुपर्नेमा बाँडेकोमा आलोचना गरेका थिए ।
कवि देवान किरातीले इटहरी धेरै क्षेत्रमा बद्नाम भएर पनि कला, साहित्य र संगीतले चिनाएकोमा त्यसैको पूर्वाधार भत्काएर स्थानीय सरकारले गलत गरेको सामाजिक सञ्जालमा लेखेका थिए ।
इटहरीका अग्रज पत्रकार तथा गजलकार सुविद गुरगाईंले पनि नगरको कला, संस्कृति, भाषा, साहित्यसम्बन्धी दुरगामी हचुवा निर्णय तत्काल नसच्याइए सांस्कृतिक सत्याग्रह गर्न तयार रहेको समेत बताएका थिए । यस्तै, सांस्कृतिक भवन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका धरणीधर दाहालका छोरा ज्ञानेन्द्र दाहालले पनि स्थानीय सरकारको आलोचना गरेका थिए ।
इटहरीका साहित्यानुरागी मुक्ति पोखरेलले स्थानीय सरकारको सो कदमको विरोध गर्दै उपमेयर लक्ष्मी गौतमको फेसबुक पोस्टमा लेखेका थिए, ‘धरणीधर दाहाल इटहरी साहित्यिक समूहका पहिलो अध्यक्ष भएका बेला उहाँकै पहलमा उक्त संस्थाको लागि बनेको भवनमा स्थापित पुस्तकालय सम्बन्धित संस्थासँग कुनै पनि सल्लाह नगरी यस्ता निर्णयमा पुग्नु दुर्भाग्यपूर्ण कुरा हो ।’
यता उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले भने आफ्नो फेसबुक पोस्टमा शिक्षा शाखाको इकाइको रूपमा लाइब्रेरी र इलाइब्रेरीको विकास गर्ने बताएकी थिइन् ।
सोमबार ‘डेलिगेसन’ पनि
सोमबार साँझ आफ्नो पुस्तकालय सम्बन्धी निर्णय फिर्ता गर्नु अगाडि सर्वपक्षीय डेलिगेसनले नगरका मेयरलाई भेटेको थियो । कवि, लेखक, पत्रकार, कलाकर्मी, र साहित्यकारहरूले मेयर चौधरीलाइ २०४९ सालमा शिलान्यास भएर ०५५ सालमा बनेको लक्जमबर्गका नागरिक जोन पोलसँगको म्यान्डेट विपरीत पुस्तकालय सार्न नमिल्ने भन्दै झक्झक्याएका थिए । सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि र डेलिगेसनपछि इटहरीको स्थानीय सरकारले बाध्य भएर निर्णय सच्याएको हो ।
अझै सम्झौताबमोजिम उपयोगमा छैन सांस्कृतिक भवन
सांस्कृतिक प्रयोजनको लागि बनेको इटहरीको सांस्कृतिक भवन अझै पनि निर्माणताका भएको सम्झौताविपरीत छ । सम्झौताले भुँइ तला, पहिलो तला र दोस्रो तलामा भिन्नभिन्न कामहरू गर्ने सम्झौता गरेको थियो । सम्झौता विभिन्न ५ बुँदामा भएको त्यसका मस्यौदाकार तथा हाल नेकपा सुनसरीका प्रभावशाली नेता रामप्रसाद चौलागाई बताउँछन् ।
इटहरीका तत्कालीन सामाजिक अगुवा धरणीधर दाहालको अगुवाइमा दाता खोजेर बनेको भवन बनाउन तत्कालीन इटहरी गाविस अध्यक्ष प्रमोद श्रेष्ठसँग सम्झौता भएको थियो । जसअनुसार भुँइ तलामा अडियो र भिडियो कन्फरेन्स हल, प्राथमिक औषधि कक्ष, हेरचार कक्ष र मुख्य कार्यालय रहने उल्लेख थियो । तर, हाल सम्झौता विपरीत इलाका प्रहरी कार्यालयको आवासीय भवनजस्तै भएको छ भुइँतला ।
यस्तै पहिलो तलामा भने पुस्तकालय कक्ष, बालबालिका खेल्ने खेल कक्ष र विभिन्न गैरसरकारी संस्थाका सेमिनार गर्ने हल रहने सम्झौता छ । तर, हाल उक्त सार्वजनिक कक्षमा नगर बाल सञ्जाललाई कार्यालय राख्न दिइएको छ । कुनै गैरसरकारी संस्थालाई कार्यालय राख्न दिनु पनि भवनको सम्झौताविपरीत देखिन्छ ।
तीन तले सांस्कृतिक भवनको दोस्रो तलामा भने सिलाइकाइ, पेन्टिङ र अंग्रेजी भाषा कक्षा सिकाइ आदि काममा प्रयोग हुने सम्झौता छ । तर, उक्त तलामा ती कुनै पनि गतिविधिहरू भएका छैनन् ।
यसरी आफ्ना पिता धरणीधर दाहालको अगुवाइमा बनेको सांस्कृतिक भवनको सम्झौताको दस्ताबेज नै सुरक्षित गरेका छोरा ज्ञानेन्द्र दाहाल सम्झौताअनुसार भवन सञ्चालन नहुनु पनि धोका भएको बताउँछन् । दाहाल प्रश्न गर्छन्, ‘दाताले दिएको जग्गामा दाताले बनाएको भवन सम्झौता अनुसार चल्दैन भने इटहरीमा कसरी अन्य लगानी आकर्षित हुन्छ ?’