तेह्रथुमः माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा काम गर्ने १ जना कामदारको शुक्रबार लडेर मृत्यु भएको छ ।

आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो ।

आयोजनाको पावरहाउस नजिकै रहेको करीब ३५ मिटर अग्लो कान्लाबाट शुक्रबार लडेर उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।