इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ ।

बीपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको हो ।

प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी पहिलो, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएका थिए ।

विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुब अन्सारीले बताए ।

प्रतियोगितामा पहिलो भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका २ सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । कार्यक्रमअन्तर्गत आज शनिबार गाई सुन्दरी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।