इटहरीः गत शनिबारदेखि यो शनिबारसम्म प्रदेश १ मा थुप्रै व्यक्तिहरूले विभिन्न समाचारका खुराकहरू बनाएका छन् । यसरी समाचार खुराक बनाउनेहरूमा समाजका विभिन्न क्षेत्रका व्यक्ति रहेका छन । यो साताभर समाचारका शीर्षक बनेका थुप्रै व्यक्तिहरूबाट शीर्ष ७ व्यक्तिहरू प्रदेश पोर्टलले छनोट गरेको छः

pritam aacharya pradeshportal (5) 8

१. प्रीतम आचार्य
इटहरी निवासी बालगायक प्रीतम आचार्य इटहरी र आसपासका क्षेत्रमा चिनिएको नाम हो । तर, भारतीय टेलिभिजन च्यानल जीटीभीले सारेगम लिटल च्याम्पको प्रोमोमै प्रीतमलाई राखेपछि प्रीतम चर्चामा आए । उनको चर्चा नेपाल र नेपालीहरू भएका धेरै ठाउँमा भइरहेको छ ।

सारेगमका अन्तिम ३० मा प्रवेश गरेका प्रीतम माघ ६ गते नेपाल आएका थिए । दिल्लीबाट बागडुग्रा हुँदै काकरभिट्टाबाट नेपाल प्रवेश गरेका प्रीतमसँगै जीटीभीको समूह पनि आएको थियो । गृहनगरमा प्रीतमको भव्य स्वागत भयो । मेयरसहितका विभिन्न व्यक्तित्वहरूले प्रीतमको स्वागत गरे । हाल प्रीतम पुनः भारत प्रस्थान गरेका छन् ।

jitjung basnet

२. जीतजंग बस्नेत
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत पनि यो साता चर्चामा आए । माघ ८ गते विराटनगरमा आएर सरकारविरोधी प्रदर्शनको नेतृत्व गरेका बस्नेत धेरै समाचारका हेडलाइन बने ।

ओली सरकारले भ्रष्टाचार, बलात्कार र महङ्गी बढाएको भन्दै बस्नेत नेतृत्वको तरुण दलले विराटनगरमा नाराबाजी गरेर केही घण्टा प्रदर्शन गरेको थियो । सातै प्रदेशका राजधानीमा प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रमअन्तर्गत बस्नेत गत मङ्गलबार प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा आएका थिए ।

bharat guragain

३. भरत गुरगाईं
झोराहाट नाट्यघरका सञ्चालक तथा प्रदेश १ का चिनिएका नाट्यकर्मी भरत गुरागाईं गत साता प्रदेश र देशमै हेडलाइन बने । गुरागाईंले मदन भण्डारीको जीवनीमा आधारित रहेर नाटक निर्माण गरेका थिए ।

प्रदीप नेपालले लेखेको उपन्यासमा आधारित ‘बर्बरिक’ नाटक माघ २ गतेदेखि राजधानीमा प्रदर्शन गरियो । नाटक हेर्न परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा उपन्यासकार प्रदीप नेपाल, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्यामल लगायतका थुप्रै विशिष्ट व्यक्तित्व गए ।

साहित्यकार तथा नेकपाका नेता प्रदीप नेपालले लेखेको उपन्यासलाई गुरागाईंले नाट्य रूपान्तरण गरेका हुन् । झोराहाट नाट्य केन्द्रमा प्रदर्शन गरेर राजधानी लगिएको यो नाटकलाई देशदौडाहामा लानुपर्ने आवाज उठेको गुरागाईं बताउँछन् ।

 

dr kcko samrthanma ansan itahari ४.शुभेच्छु देवान राई
आज शनिबार पहिलोपटक प्रदेश १ मा डाक्टर गोविन्द केसीको समर्थनमा २४ घन्टे सामुहिक अनसन कार्यक्रम आयोजना भयो । यसको नेतृत्व गरे तरहराको लिबरल सोसाइटीका प्रमुख अभियानकर्मी शुभेच्छु देवान राईले ।

राईको नेतृत्वमा उनीसहित २८ जना अनसन बसिरहेका छन् । इटहरीको रेयुकाइ चौतारीमा भएको अनसन कार्यक्रम अगाडि र्याली पनि निकालिएको थियो । केसीका मागहरू पूरा गर्न र उनको जीवनरक्षा गर्न भन्दै अनसन बस्ने नेतृत्व गरिरहेका राई धेरै समाचारहरूमा हेडलाइन बनिरहेका छन् ।

rajendra lingden

५. राजेन्द्र लिङ्देन
राप्रपाका एकमात्र प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र लिङ्देन यस साता चर्चामा आए । झापामा आयोजित एक कार्यक्रममा हरेक सामुदायिक वनमा एक सिमसार हुनुपर्ने बताएका लिङ्देनको भनाइको समाचार धेरै मिडियाहरूले समेटेका थिए । झापाको कचनकवल–७ को दीपज्योति सामुदायिक वनको ११ औँ साधारण सभामा बोल्दै लिङ्देनले माघ ८ गते यस्तो बताएका थिए ।

lekhraj rijal

६. लेखराज रिजाल
मेकानिकल इन्जिनियरिङ गरेका लेखराज रिजाल पनि गत साता चर्चामा रहे । सप्तकोशी नदीमा जलयात्रा गराउने विभिन्न जेटबोटहरू विदेशमा बनेर आइरहेको बेला आफैँले नेपालमा नयाँ जेटबोट बनाएकाले रिजाल चर्चामा आएका थिए ।

इन्जिनियर सुमन खत्री र लेखराज रिजाल मिलेर ३० सिटे जेटबोट मोरङको बलियामा बनाएको सामाचार गत बिहीबार प्रदेश पोर्टल मार्फत पहिलोपटक सार्वजनिक भएको थियो । नेपालमा नै जेटबोट बनाउँदा डेढ करोड जोगिने बताउँदै इन्जिनियर रिजाल आफूहरूमा जेटबोट बनाउन सक्ने दक्ष प्राविधिक जनशक्तिहरू रहेको बताउँछन् ।

chitra bdr KC (2)

७. चित्रबहादुर केसी
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी इटहरी आएर हेडलाइन बने । शुक्रबार इटहरीमा आफ्नो पार्टीको अखिल नेपाल जनजाति सङ्घको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै केसीले नेपालमा सङ्घीयता आवश्यक नभएको बताएका थिए । इटहरीमा ११, १२ र १३ गते हुने अधिवेशनको उद्घाटनको लागि केसी इटहरी आएर यस्तो बताएका थिए ।