इलामः इलाम नगरपालिका–७ मालापथमा आज बिहान आगलागी भएको छ ।
समता स्कुलको पछाडि रहेको स्थानीय मनबहादुर गुरुङको २ तले घरमा आगलागी भएको हो । आगलागीबाट घरको एकतला पूर्ण रूपमा क्षति भएको छ । बिहान साढे ६ बजे शुरु भएको आगो ८ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
इलाम नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । घरमा खाना बनाउन राखेको ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको बताइएको छ । पक्की घरको माथिल्लो तलामा बनाइएको टिनको बेरा भएको चार कोठा पूर्ण रूपमा क्षति भएको बताइएको छ । घरमा भएको सामान निकाल्न नपाएपछि सम्पूर्ण सामान पनि जलेर नष्ट भएको स्थानीयले बताए ।
क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईले जानकारी दिए ।