इटहरीः शनिबार बिहान १० बजेदेखि शुरु भएको २४ घन्टे सामुहिक अनसन एक बालिकाको हातबाट जुस पिएर तोडिएको छ ।
डाक्टर गोविन्द केसीको समर्थनमा लिबरल सोसाइटीले आयोजना गरेको अनसन आइतबार बिहान तोडिएको हो । २ कक्षामा अध्ययनरत सुम्निमा लिम्बूको हातबाट सोसाइटीका अध्यक्ष शुभेच्छु देवानले जुस पिएर अनसन तोडेका हुन् ।
केही दिन अगाडि पारित चिकित्सा शिक्षा विधेयक शैक्षिक माफियाको पक्षमा भएको भन्दै अनसन शुरु भएको थियो । अनसन समापनपछि बोल्दै देवानले डाक्टर केसीले गरीब जनताका छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउनुपर्ने माग गर्नुभएको र आफूहरू त्यसैको पक्षमा रहेको बताए ।
‘हामी डाक्टर केसीको साथमा छौँ भन्ने म्यासेज दिन अनसन बसेका हौं’, उनले भने, ‘सरकार माफिया र दलालको स्वर्थमा फस्दै गएको हुनाले त्यस विषयमा सचेत गराउन अनसन बसिएको हो ।’
अनसनको समापनमा पुगेका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले केसीका मागमा आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताए । आफू र डा गोविन्दराज पोखरेलले केही दिन अगाडि केसीको समर्थनमा विज्ञप्ति नै निकालेको उनको भनाइ थियो । केसीको १४ औं अनसनमा आफू वार्ता टोलीमा रहेर काम गरेको स्मरण गर्दै उनले केसीका माग जायज भएर पनि सरकार सकारात्मक बन्न नसकेको बताए ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले केसीले उठएका मागमा सरकार गम्भीर हुनुपर्ने बताए । लिबरल सोसाइटीले देखाएको केसीप्रतिको समर्थन सह्रानीय रहेको उनको भनाइ थियो ।
अनसन समापन कार्यक्रममा बीपी अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष रञ्जन ओझा, प्रदेश सदस्य दिव्यराज गुरुङलगायतका युवा उपस्थित थिए ।