फाइल तस्बिर

झापाः झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब ११ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वालीमा आज बिहान ४ बजे आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली, ७५ मन धान, ५० मन मकै, २ मन तोरी, ४ वटा चौपाया, फर्निचरका सामान र भाँडावर्तन जलेर नष्ट भएको थियो । आगलागी वारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार साँझ झापाको कनकाई नगरपालिका–४ का लङ्कबहादुर खड्काको घरमा आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ ।

खड्काको फुसको छानो र टाटी बेरा भएको एक तले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा र १४ वटा कुखुरा जलेर नष्ट भएको झापा प्रहरीले जनाएको छ । आगलागी इलाका प्रहरी कर्यालय सुरुङ्गा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।