गाईघाटः उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ४ ६ र ७ मा एक हप्तादेखि अज्ञात रोगका कारण चौपाया मर्ने क्रम बढेको छ ।
बेलका–८ मा मात्र एक हप्ताभित्रमा डेढ दर्जनभन्दा बढी खसी, बोका र बाख्रा मरिसकेको स्थानीय राजकुमार मगरले बताए । यस्तै, वडा नम्बर ४ र ७ मा समेत खसीबाख्रा बिरामी हुने र मर्ने क्रम बढेको वडा नम्बर ४ का ध्रुव कार्कीले बताए ।
अहिले रोगको प्रकोप फैलिँदै गएपछि नगरपालिकाले उपचारमा पशु चिकित्सक परिचालन गरे पनि रोग नियन्त्रणमा नआएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।
कुन रोग लागेको हो भन्ने कुरा अहिले विशेषज्ञले अनुसन्धान शुरु गरे पनि रोग पत्ता लागिनसकेको उनले जनाए । सो रोगको लक्षणमा खसीबाख्राको नाकबाट पातलो सिँगान आउने, श्वासप्रश्वासमा समस्या हुने, घाँस खान समस्या हुने र मर्ने गरेको किसानलाई उद्धृत गर्दै मेयर थापाले बताए ।