झापाः झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र रहेको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ ।

तेस्रो देशमा पुनःस्थापित शरणार्थीको स्मृतिमा वनको खण्ड ५ को १० कठ्ठा जमीनमा ९४ लाखको लागतमा सो बगैँचा निर्माण हुन लागेको हो । सो क्षेत्रमा वि.सं २०४८ देखि २०६८ सम्म भुटानी शरणार्थी बसेका थिए ।

उक्त बगैँचा सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य रहेको नगरप्रमुख हरिकुमार रानाले बताए । ‘बगैँचाका लागि प्रदेश सरकारले यस पटक रु १० लाख प्रदान गरेको छ’, उनले भने, ‘नगरपालिका र अन्य पक्षसँगको सहकार्यमा निर्धारित समयमै बगैँचा निर्माण गरिने छ ।’

भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना भएपछि सो क्षेत्रको सरकारको पर्यापर्यटन नीतिअनुरुप पर्यटकीय स्थल बनाउन लागिएको नगरप्रमुख रानाले बताए ।

२ सय मिटर लम्बाइ र १ सय ६० मिटर चौडाइको सो बगैँचाका लागि इञ्जिनियर लोकबहादुर तामाङले लागत इस्टिमेट तयार पारेको रानाले बताए । बगैँचाको बीचमा पोखरी र त्यसमा ४ वटा पुल, स्मृति स्तम्भलगायत पूर्वाधार निर्माण गर्नाका साथै शरणार्थीको इतिहास नेपाली र अङ्ग्रेजी दुवै भाषामा लिपिबद्ध गरेर राखिने जनाइएको छ ।