विराटनगरः नेपाल रेडक्रस सोसाइटी मोरङले गत आर्थिक वर्षमा १९ हजार १ सय ६९ पिन्ट रगत सङ्कलन गरेको छ । मोरङको ग्रामथान गाउँपालिकामा आयोजित सोसाइटीको ४६ औँ वार्षिक साधारणसभा र आर्थिक प्रतिवेदन कार्यक्रममा सो जानकारी गराइएको हो ।

यसरी सङ्कलन गरिएका रगतमध्ये मोबाइल सङ्कलनबाट ११ हजार ७ सय ७२ र ऐच्छिक शोधभर्नाद्वारा ३ सय ६२ पिन्ट सङ्कलन भएको हो । स्वयंसेवीबाट ७ हजार २७ पिन्ट रगत सङ्कलन भएको बताइएको छ ।

सो अवसरमा शाखा अध्यक्ष सुवोधकुमार सिंहले मानव सेवा कार्यमा आफ्नो घोषित उद्देश्यअनुसार संस्थाले कार्य गरिरहेको बताए । १९ हजार ८ सय ४० विपतपीडित व्यक्तिलाई गत वर्ष राहत सामग्री वितरण गरिएको उनले जनाए । सभामा सोसाइटीका मोरङ कोषाध्यक्ष शुकदेवप्रसाद मण्डलले आगामी आर्थिक वर्षका लागि २ करोड ८९ लाख ९९ हजार ९ सय २९ रुपैयाँको अनुमानित वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

सो अवसरमा ग्रामथान गाउँपालिका उपाध्यक्ष फूलकुमारी चौधरी र शाखाका मन्त्री डिल्ली पोखरेलले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । गत वर्ष सबैभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्थालाई सम्मान पनि गरिएको थियो । मोरङ जिल्लामा ५३ उपशाखा रहेको जिल्ला रेडक्रसले जनाएको छ ।