फाइल तस्बिर
झापाः झापाको मेचीनगर नगरपालिका–११ की १२ वर्षीया किशोरी सबिना मेचेलाई आर्थिक सहयोग जुट्ने क्रम जारी छ । १ नम्बर प्रदेश सभा सदस्य राधा थापाले किशोरी मेचेको घरमै पुगेर नगद ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताइन् ।

स्थानीय हँडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदुरी गर्दै आफ्नो र छोरीको जीविकोपार्जन गर्दै आएकी ३९ वर्षीया आमा शर्मिला मेचेको निधनपछि उनले आमाको किरिया गरेकी थिइन् ।

सबिना स्थानीय बलभद्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । सबिनालाई अब आफ्नो लालनपालन कसले गर्ला भन्ने चिन्ता छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले उनको घरको अवस्था हेरेर उनको लालनपालन र पढाइमा सहयोग गर्न नगरका उद्योगी, व्यवसायीलगायतलाई आग्रह गरेकी थिइन् ।