इटहरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) प्रदेश १ को दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेनशले युवराज वशिष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । लामो समयको कसरतपछि वशिष्ठसहित २ जना उपाध्यक्ष निर्विरोध चयन भएका हुन् । वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषध्यक्षमा भने निर्वाचन भएको थियो ।

yubraj

वरिष्ठ उपाध्यक्षमा टीकाराम ढकाल निर्वाचित भए भने सचिवमा इटहरीकै सुमित थापा निर्वाचित भएका छन् । जम्मा ४ सय ६ मतमध्ये थापाको पक्षमा २ सय ८४ र उनका प्रतिद्वन्द्वी कोषराज प्याकुरेलको पक्षमा १ सय १५ मत खसेको थियो ।

यससँगै प्याब्सन प्रदेश समितिको २ वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिले पूर्णता पाएको छ । निर्वाचित भएसँगै वशिष्ठले निजी विद्यालयहरू सङ्गठित रूपमा अगाडि बढ्नुपर्ने बताए ।

कतिपय करसँग सम्बन्धित विषयलाई प्रदेश सरकारसँगको समन्वयमा हल गरिने उनको भनाइ थियो । शिक्षा क्षेत्रको विकास नभई अन्य क्षेत्रको विकास असम्भव हुने भन्दै उनले आफ्नो जोड गुणस्तरीय र प्राविधिक शिक्षामा रहेको बताए । साथै केही दिनमै आफ्नो २ वर्षे दृष्टिकोण सार्वजनीक गर्ने उनको भनाइ छ ।

त्यस्तै, इटहरीबाट निर्वाचित सचिव थापाले प्याब्सनलाई अब संस्थागत हक हितको लागि अगाडि बढाउने काममा आफू लाग्ने बताए । नयाँ जमानामा प्रविधिमैत्री शिक्षाको आवश्यकता पर्न गएको भन्दै उनले हरेक विद्यालयलाई प्रविधिमैत्री बनाउने काममा आफूहरू लागि पर्ने बताए ।