इटहरीः नेकपाका दुई भातृ सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी सुनसरीले चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पास भएको भन्दै इटहरीमा दीप प्रज्वलन गरेका छन् । अखिल र अखिल क्रान्तिकारीको जिल्ला कमिटी सुनसरीले संसदबाट विधेयक पास भएको खुशीयाली इटहरीमा मनाएको हो ।
शनिबार मात्र इटहरीमै चिकित्सा शिक्षा विधेयक जनताको पक्षमा नभएको भन्दै डा. केसीको समर्थनमा लिबरल सोसाइटीको आयोजनामा २४ घण्टे सामुहिक अनसन कार्यक्रम भएको थियो । २४ घण्टे अनसन तोडिएको १२ घण्टा नबित्दै अखिलले आम जनताको हितको पक्षमा ऐन आएको भन्दै दीप प्रज्वलन गरेको हो ।
‘साधारण जनताको पनि चिकित्सा शिक्षामा पहुँचसम्बन्धी ऐन आएको छ’, अनेरास्ववियु सुनसरीका अध्यक्ष जीबी गजलले भने, ‘सार्वभौम संसदबाट जनतामुखी ऐन आएकोमा सबै जनताले खुशी मान्नुपर्ने विषय हो । त्यसैले हामीले खुशीयाली मनाएका हौँ ।’