बेलबारी/ बोन क्यान्सरपीडित मोरङको लेटाङ–९ जाँते बाह्रकोठेकी १० वर्षीया मनिषा लिम्बू भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन् । मनिषाको उपचारमा खर्च अभाव हुँदै जाँदा लेटाङको एक सामाजिक संस्थाले बजारबजारमा गएर सेलरोटी बेचेर ६१ हजार भन्दा बढी संकलन गरी सहयोग गरेको छ ।
मनिषाको उपचारका लागि बेलबारीको सोमबारे हटियामा ६१ हजार २ सय १२ रुपैयाँ संकलन गरेको लायन्स क्लब लेटाङकी अध्यक्ष शान्ति पाख्रिनले बताइन् । आर्थिक अभावका कारण अस्पतालमा छटपटाइरहेकी लिम्बूको उपचारमा सहयोगका लागि लायन्सलगायतका संस्थाले सेलरोटी बेच्ने अभियान शुरु गरेका छन् ।
‘हामीले प्याकेटमा राखेर बजारमा ५० रुपैयाँ लिएर रोटी बेच्याँै,’ पाख्रिनले भनिन्, ‘पहाडमा जाडो बढ्दा तराईले सेक्नुपर्छ भनेजस्तै हामीले पनि एउटी बालिकाको लागि सहयोग गरेका हौँ ।’ पीडित बालिकाका अभिभावक बनीबुतो गरेर छाक टार्छन् । शिक्षा आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत मनिषाको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको किमोथेरापी पद्धतिबाट उपचार भइरहेको बताइएको छ ।
यसैगरी, बेलबारीका केही युवाले काभ्रेकी रुपा तिवारीको उपचारका लागि केही दिन अघि चटपटे र पानीपुरी बेचेका थिए । ब्लड क्यान्सरपीडित तिवारीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले युवाले चटपटे र पानीपुरी बेचेर ३३ हजार संकलन गरेर हस्तान्तरण गरको रुपा तिवारी बचाऔं अभियानका संयोजक पेरिस सुवेदीले बताए ।
युवाले मोरङमा विभिन्न नाम राखेर समूह गठन गरी अस्पतालमा उपचाररत बिरामीको सहयोग गर्न थालेका छन् । उनीहरूले दारी ग्याङ, मायालु हातहरू, सहयोगी हात, गरी खान देऊलगातका समूह गठन गरी सहयोग जुटाउन थालेका छन् ।