इटहरीः इटहरीका प्रदेश सांसद लीलम बस्नेत पुरुष हुन् । तर, उनलाई प्रदेश सभाले महिला बनाएको छ । यस्तै, इलामबाट प्रत्यक्ष निर्वाचित सांसद खिनु लङ्वा लिम्बू महिला हुन् । तर, उनलाई पुरुष बनाएको छ प्रदेश सभाले ।

यति मात्रै होइन धनकुटाकी प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ महिला हुन् । उनलाई पनि प्रदेश १ को संसद सचिवालयले पुरुष बनाएको छ । आफ्नो आधिकारिक अनलाइनमा प्रदेश १ का सांसदहरूको सूचीमा यसरी पुरुषलाई महिला र महिलालाई पुरुष भनेर लेखिएको छ ।

aasha ratna

 

महिलालाई ‘पुरुष’ बनाइएका ७ सांसदहरू
१. आशारत्न जबेगू, पाँचथर
२. कुसुमकुमारी श्रेष्ठ, धनकुटा
३. कृष्णकुमारी राई, मोरङ
४. गुलेफुन खातुन, मोरङ
५. जसमाया गजमेर (विश्वकर्मा), झापा
६. सौभाग्यवती देवी राई किरात, भोजपुर
७. खिनु लङ्वा लिम्बू, इलाम

पुरुषलाई ‘महिला’ बनाइएका सांसद
१. लीलम बस्नेत, सुनसरी

Lilam basnet

 

नेकपाका सांसदहरूको मात्रै ‘लिङ्ग’ परिवर्तन
यसरी पुरुषलाई महिला र महिलालाई पुरुष बनाइएका सांसद सत्तारुढ नेकपाका मात्रै छन् । प्रदेश १ मा ९३ सांसदहरू रहेका छन् । ६७ सांसद भएको नेकपाका ८ सांसदहरूको लिङ्ग परिवर्तन गरिएको छ ।

२१ सांसद भएको नेपाली काङ्ग्रेस, ३ सांसद भएको सङ्घीय समाजवादी फोरम र १÷१ सांसद भएका सङ्घीय लिम्बुवान मञ्च र राप्रपाका सांसदहरूको भने लिङ्ग परिवर्तन गरिएको छैन ।

सांसदहरूको लिङ्ग परिवर्तन गरिएको बारेमा संसद सचिवालयका सूचना अधिकारी अम्बिकाप्रसाद नेपाललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।