विराटनगरः प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार विराटनगरमा योग शिविर शुरु भएको छ । ‘योग गराँै, स्वस्थ बनौं’ नारा दिएर प्रदेश सरकारले ५ दिनसम्म योग शिविर गर्ने भएको हो ।
पहिलो दिन आइतबार एकै स्थानमा विराटनगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो । विराटनगरमा रहेको विराटनगर अस्पताल पूर्वतर्फको खाली मैदानमा बिहान ५ बजे नै नगरवासी योगमा सहभागी भएका थिए ।
योग प्रशिक्षक लोकनाथ ढकालको प्रशिक्षणमा प्रदेश १ का प्रदेश प्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङ, सामाजिक विकास मन्त्री जीवन घिमिरे, हास्य कलाकार सीताराम कट्टेल धुर्मुस, सुरक्षा तथा कर्मचारी प्रशासनका व्यक्ति, सांसद तथा नेता शिविरमा सहभागी भएका थिए ।
शिविर बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आम नागरिकका लागि र दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्यार्थीका लागि आयोजना हुने भएको छ । शिविरमा आउनेहरूका लागि आवश्यक यातायातका साधनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।