झापाः इलाका प्रहरी कार्यालय काँकरभिट्टाले विभिन्न समयमा बरामद गरेको घरेलु मदिरा आइतबार नष्ट गरेको छ ।
अवैध रूपमा घरमै उत्पादन गरेर बिक्री गर्न भारततर्फ लैजाँदै गर्दा मेचीनगरलगायत जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको २ सय लिटर घरेलु मदिरा विभिन्न सङ्घ संस्था, अधिकारकर्मी, सञ्चारकर्मी सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिको रोहबरमा प्रहरीले कार्यालय परिसरमा व्यवस्थित रूपमा नष्ट गरेको थियो ।
मदिराको गैरकानुनी रूपमा करोबार गर्ने कारोबारीले अन्तःशुल्कको नक्कली स्टिकर टाँस गर्ने र त्यस्ता खालका स्टिकर सहजै उपलब्ध हुने भएकाले करोबारमा सजिलो हुने गरेको प्रहरीको भनाइ छ । तर, त्यस्ता कारोबारीलाई प्रहरीले विभिन्न गोप्य सूचनाका आधारमा पक्राउ गरी कारबाही गरेकोे र मदिरा नष्ट गरेको प्रहरीको भनाइ छ ।
घरमा बनाइएका तथा नक्कली रक्सीमा अन्तः शुल्कको स्टिकर टाँस गरी अवैध धन्दा गरिरहेकालाई निरुत्साहित गर्न गोप्य रूपमा प्रहरी परिचालन गरिएको बताइएको छ ।
प्रहरीका अनुसार झापाका ग्रामीण क्षेत्रमा यस्तो अवैध धन्दा हुने गर्दछ । मेचीनगर, चारआली, भद्रपुर, शनिश्चरे, सुरुङ्गा, दमकलगायतका बजारमा यस्ता मदिरा बिक्री हुने गरेको बताइएको छ ।