इटहरीः ट्रिफरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएको घटनापछि मोरङका सुन्दरहरैंचा र बेलबारी नगरपालिका तथा केराबारी गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ ।

बिहान साढे ८ बजे ट्रिफरले ठक्कर दिएको केही समयपछिदेखि बिजुली अवरुद्ध भएको मोरङ ग्रामीण विद्युत उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पुरन राईले बताए । उनका अनुसार घटनास्थल छेउमा रहेको नेपाल विद्युत प्राधिकरण केन्द्रको बेलबारी वितरण केन्द्रले विद्युत अवरुद्ध गरेको हो । सुन्दरहरैंचा, बेलबारी र केराबारी क्षेत्रमा विद्युत सेवा बन्द भएको उनले बताए ।

बेलबारी विद्युत वितरण केन्द्रको विराटचोक सब स्टेसनका फोरम्यान रामशंकर यादवका अनुसार स्थानीयले ट्रिफरमा आगो लगाउँदा सो आगोले बिजुलीको नाङ्गो तारमा पनि भेट्ने अवस्था आएपछि विद्युत अवरुद्ध गरिएको हो ।

‘घटनापछि ट्रिफरका लगाइएको आगोको ज्वालाले बिजुलीको नाङ्गो तार भेट्ने अवस्था आयो’, फोन सम्पर्कमा यादवले भने, ‘त्यसपछि हामीले बिजुली बन्द ग¥यौं ।’ बिजुली बन्द गरिए पनि कतिपय तारमा भने आगोले भेटेको हुन सक्ने उनले बताए । बाहिर निस्कने र तारको अवस्था हेर्न सक्ने वातावरण नै नभएको उनले बताए । यादवका अनुसार सब स्टेसनकै छेउमा घटना भएको हो ।

नेपाल विद्युत प्राधिकरण बेलबारी अन्तर्गतका विराटचोक, बेलबारी र केराबारी सब स्टेसनमार्फत् हुने विद्युत वितरण सेवा अवरुद्ध भएको यादवले बताए ।

ट्रिफरमा लगाइएको आगोले भेटेर केही इन्टरनेट र केवलका तारमा पनि क्षति पुगेको स्थानीयले बताए ।