विराटनगरः बैंकहरूले मनोमानी रूपमा वृद्धि गरेकोे ब्याजदर नियन्त्रणको माग गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले जिल्ला प्रशासन कार्यालय तथा राष्ट्र बैंकमार्फत् ज्ञापनपत्र बुझाएका छन् ।
उत्पादनमूलक उद्योगलाई सरल रूपमा ऋण उपलब्ध गराउन माग गर्दै आइतबार ज्ञापनपत्र बुझाइएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमार्फत् प्रधानमन्त्री तथा मन्त्री परिषद् र अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । त्यस्तै, नेपाल राष्ट्र बैंंकको क्षेत्रीय कार्यालय विराटनगरमार्फत् राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नका लागि सरल ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने माग गरिएको छ । वाणिज्य बैंकले औद्योगिक लगानीमा प्रवाह गरेको ऋणमा मनपरी ढङ्गले ब्याजदर वृद्धि गर्दासमेत हस्तक्षेप र नियन्त्रण नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उद्योग सङ्गठन मोरङ र उद्योग वाणिज्य सङ्घ मोरङले औद्योगिक लगानीको वातावरण सिर्जना हुनुपर्ने मागलाई अगाडि सारेका हुन् । उत्पादनमूलक उद्योगको प्रकृति हेरी ७ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गर्नुपर्ने र व्यवसायको क्षेत्रमा ९ प्रतिशत ब्याज निर्धारण हुनुपर्ने उद्योग वाणिज्य सङ्घ मोरङका महासचिव नवीन रिजालको भनाइ छ ।
सरकारले औद्योगिक वातावरण तयार गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे बताउँछन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले उद्योगी र व्यवसायीको ज्ञापनपत्र बुझ्दै निर्णय गर्ने निकायसम्म पठाउने बताए । यसैगरी, नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक विनोदराज आचार्यले केन्द्रीय कार्यालयको तहसम्म ज्ञापनपत्र पठाउने बताए ।
लगानीको वातावरण सिर्जना गर्न वर्तमान सरकारको योजनालाई सफल बनाउन सबै प्रकारको सहयोग गर्न स्थानीय प्रशासन सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी केसीको भनाइ थियो ।