झापा/ पूर्वी नाका भएर हुने बन्दाकोपीको निर्यात विगत ३ दिनदेखि ठप्प छ । नेपालको पूर्वी पहाडी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुने बन्दाकोपीको माग भारतीय बजारमा प्रशस्त छ ।

तर, भारतीय व्यवसायीहरूले बन्दाकोपीको उचित मूल्य नदिएको भन्दै नेपाली किसानले काँकरभिट्टा नाका भएर हुने बन्दाकोपीको निर्यात ठप्प पारेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका प्राविधिक सहायक विनयकुमार साहले बन्दाकोपीको सिजन शुरु भए पनि किसानले उचित मूल्य नपाएको भन्दै निर्यात ठप्प पारेको जनाए । उनका अनुसार ३ दिनदेखि एक ट्रक पनि बन्दा निर्यात भएको छैन । साउनदेखि असोज सम्मका महिनालाई व्यवसायीहरूले बन्दाकोपीको सिजनका रूपमा लिने गरेका छन् ।

अघिल्ला वर्षहरूमा सिजन शुरु भएसँगै ठूलो परिमाणमा बन्दाकोपी निर्यात हुने गरेको भए पनि अहिले सिजनको शुरुवातीमै निर्यात ठप्प झैँ छ । किसानले उचित मूल्य पाउँदा सिजनमा दैनिक ८ देखि १५ ट्रकसम्म पनि बन्दा निर्यात हुने गरेको उनको भनाइ छ ।

विगतका सिजनमा प्रतिकेजी भारु १२ देखि १५ रुपैयाँमा प्रतिकेजी बिक्री हुने गरेको बन्दाकोपी अहिले ६ देखि ७ रुपैयाँ प्रतिकेजीमा समेत बिक्री नहुने व्यवसायी बताउँछन् ।

पूर्वी पहाडी जिल्ला तेह्रथुमका विभिन्न ठाउँ, धनकुटाको सिँधुवालगायतका स्थानमा उत्पादन भएका बन्दाकोपीको माग भारतीय बजारमा प्रशस्त हुने गरेको छ । भारतको सिलिगुडी, जलपाइगुडी साथै विहारका विभिन्न स्थानमा समेत बन्दाकोपी निर्यात हुने गरेको छ ।

‘बजारमा मूल्य नै छैन’ धनकुटाको सिँधुवाका व्यवसायी रामकुमार पाख्रिनले भने, ‘लगानी समेत उठ्ने अवस्था छैन कौडीका भरमा त दिन सकिँदैन नि ।’

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पूर्वी नाका भएर ५ करोड ८० लाख २४ हजार रुपैयाँ मूल्यबराबरको ७ हजार २ सय ५३ मेट्रिक टन बन्दाकोपी भारत निर्यात भएको थियो ।

सोे वर्ष निर्र्यात भएको बन्दाकोपी अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ९ सय मेट्रिक टनले कम हो । आर्थिक वर्ष २०७३/०७४ मा ५ करोड ८२ लाख ७ हजार रुपैयाँ बराबरको ६ हजार ३ सय ५३ मेट्रिक टन बन्दाकोपी निर्यात भएको थियो । नेपाली बजारमा खुद्रा ३० रुपैयाँ प्रतिकेजीका दरले बन्दाकोपी बिक्री हुने गरेको छ ।