इटहरीः इटहरी उपमहानगरपालिकाभित्र केही यस्ता शैक्षिक संस्था छन् जो खोला र पैनीको जग्गामा बनेका छन् । इटहरी ४ मा अवस्थित हाम्रो इङ्लिस बोर्डिङ स्कुलको भवन खेती खोला मिचेर बनेको छ ।
५५ देखि ७६ फिट सम्म चौडाइ भएको खोलाको भाग हाल खुम्चिएर २५ फिट भन्दा सानो भएको छ । जसमा स्कुलको प्रशासनिक भवन बनेको छ ।
सो स्कुलले करीब २ सय वर्गफिट क्षेत्रफल खोलाको जग्गा मिचेको छ । खोलाको आकार नै खुम्चिएर गएको छ । जसका कारण हरेक वर्षको बाढीमा खोलो बजार क्षेत्रमा प्रवेश गर्छ ।
एक स्थानीयले नाम नबताउने शर्तमा आफूहरूले बारम्बार स्कुलमै गएर र नगरपालिकामा पनि यस विषयमा जानकारी गराएको तर केही सुनुवाइ नभएपछि बोल्नै छाडेको बताए । इटहरीका नाम चलेका व्यक्तिहरूको लगानी भएकाले मेयर डराएर खोला सफा गर्न नसकेको उनको भनाइ छ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले खेतीखोला सरसफाइ अभियान नै चलाए । तर उनले चलाएको डोजरले सिमानमा रहेको राजकुमार खड्काले बाँधेको बाँधदेखि बाहेक अरु केही पनि भत्काउन सकेन । अन्ततः डोजर स्कुलसम्म पुग्न सकेन । तिनै खड्काका अनुसार उनले जग्गा संरक्षणमा लगाएको बाँधबाहेक छेउछाउमा बनेका घर तथा टोल विकास कार्यालयका भवन जस्ताको तस्तै छाडिएको छ ।
त्यस्तै, इटहरी–८ को नमुना कलेजले पनि टेङ्ग्रा खोला मिचेर भवन बनाएको छ । जहाँ ४० फिट चौडा खोला खुम्चिएर १० फिटको भएको छ । कलेजकै अगाडि निर्माण भएको घरसमेत खोलाकै जग्गामा निर्माण भएको छ । कलेजले खोलाको जग्गा पर्ने स्थानमा एकातिर कल गाडेको छ भने अर्कातिर भवन बनाएको छ । खोलाको किनारामा पर्ने बाटोसमेत खिइँदै गएको छ ।
सङ्घीय सरकारले स्थानीय सरकारलाई पठाएको पत्रअनुसार खोलादेखि ३० मिटर आसपासको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने उमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल बताउँछन् । तर स्थानीय सरकारमा भने कति मिटर राख्नु उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गर्न गठित समितिले अध्ययन गरिरहेको उनको भनाइ छ ।
खोलाको भागमा घर तथा भवन निर्माण भएपछि खोलो बजार पस्ने क्रम बढेको छ । जसका कारण हरेक वर्ष इटहरीवासी तनावमा हुने गर्छन् । बर्खा लाग्नेबित्तिकै इटहरी बजारमा बाढी पस्ने गरेको छ ।
उता, हाम्रो बोर्डिङका सञ्चालकसँग यस विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । भने नमुना कलेजका प्रिन्सिपल धर्म न्यौपानेले कलेजको जग्गा अझै खोलामा परेको बताए । आपूmहरूले निर्माण गरेका संरचना अस्थायी प्रकृतिको भएका कारण भत्काउन सकिने उनले बताए ।