विराटनगरः महिनावारी हुँदा स्कुल छाड्ने छात्रालाई विद्यालयमा आउने वातावरण बनाउन विराटनगर महनगरपालिकाले सेनेटरी प्याड वितरण गर्ने र महिनावारी स्वास्थ्य शिक्षा दिने कार्यक्रम ल्याएको छ ।
महानगरले सरकारी विद्यालयका छात्रालाई लक्षित गरी यो कार्यक्रम तय गरेको हो । सोही अनुरूप विराटनगरस्थित मिल्स माध्यमिक विद्यालयमा सोमबार सेनेटरी प्याड वितरण गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरे ।
महिनावारी भएका विद्यार्थीलाई वितरण गर्नेगरी ५ सय प्याकेट सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण समेत गरिएको स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले बताइन् । महानगरभित्र रहेका सबै सरकारी विद्यालयमा अब सेनेटरी प्याड राखिने र महिनावारी भएको समयमा वितरण गरिने जनाइएको छ ।