बेलबारी/ बेलबारी नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा बढाउने अभियान थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको छ ।
चालु शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयको सङ्ख्या ह्वात्तै बढेको हो । ३२ वटा सामुदायिक विद्यालय रहेको बेलबारी नगरपालिकामा १० वटा भन्दा बढी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ ।
यसअघि विद्यार्थीको अभावमा बन्द हुने वा गाभिने अवस्थामा पुगेका यी विद्यालयमा अङ्ग्रेजी माध्यम शुरु गरिएसँगै उल्लेख्य विद्यार्थी भएपछि विद्यालयको अवस्था फेरिएको शिक्षकले बताएका छन् । अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने जनाएसँगै नयाँ शैक्षिक सत्रमा विद्यार्थी बढेका छन् ।
जनता माध्यमिक विद्यालय बेलबारी– ८ ले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने गरेको बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख जीवन गड्तौलाले बताए । अङ्ग्रेजी माध्यबाट पठनपाठन गर्न थालेसँगै विद्यार्थी बढ्न थालेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले बताए । उनका अनुसार यस शैक्षिक सत्रमा १ सय ७० जना विद्यार्थी बढेका छन् । गत शैक्षिक सत्रमा ५ सय ८६ जना विद्यार्थी रहेका थिए ।
नगरपालिकाले विद्यार्थी खाजा तथा शिक्षक सम्मान कार्यक्रम गर्न थालेपछि विद्यार्थी बढ्न थालेको लक्ष्मी माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्य शिवकुमार राईले बताए ।
केही वर्ष पहिलेदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको जनता माविमा समेत विद्यार्थी बढेको विद्यालयले जनाएको छ । नगरले थालेको विद्यार्थी भर्ना अभियानले सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक जनक घिमिरेले बताए । ‘अभिभावक र विद्यार्थीमा समेत अङ्ग्रेजीको चाहना बढेपछि विद्यालयमा यो लहर आएको हुन सक्छ,’ शिक्षा शाखाका प्रमुख गड्तौलाले भने, ‘हामीले सोचेभन्दा उल्लेख्य लहर आएको हो ।’
अहिले कतिपय सामुदायिक विद्यालय आसपासका निजी लगानीका विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ । विद्यालयमा गरिने विद्युतीय हाजिरीले समेत सामुदायिक विद्यालयप्रति अभिभावकको भरोसा जागेको अनुमान गरिएको छ ।