इटहरीः पछिल्लो समय नेपाली पुरुष फुटबलले आफनो लय गुमाउँदै गएको छ । सन् १९९३ मा १ सय २४ औँ वरियतामा रहेको टोली सन् २००९ मा आउँदा १ सय ५२ औँ वरियतामा पुग्यो ।

सन् २०१८ मा १ सय ६१ आँै वरियता क्रममा नेपाली टोली अटायो । म्याच फिक्सिङ प्रकरण बाहिरिएपछि २३ बर्षे उपाधी खडेरी तोड्दै सन् २०१६ मा बङ्गबन्धु, साग र सोलिडारिटी कप जित्दै आफूलाई प्रमाणित गरेको नेपाली टोली फेरि अहिले सुस्ताएको छ ।

शहीद स्मारक ए डिभिजन नसकिँदै मोफसलमा यो सिजनका नक आउट प्रतियोगिता शुरु भए । यो सिजनमा मात्र मोफसलमा पुस २१ देखि बैशाख २१ सम्म ४ महिनाको अवधीमा २३ वटा नकआउट प्रतियोगिता हुँदैछन् । त्यो पनि एन्फाले मिति तय गरेका । त्यस बाहेक अन्य ठाउँमा हुने फुटबल प्रतियोगिताको रेकर्ड नै छैन ।

धेरैजसो प्रतियोगिताको मिति सँगसँगै जस्तो छ । जसले गर्दा खेलाडीले एउटा खेल खेलेको २४ घण्टा पनि नबित्दै अर्कोमा खेल्न पुग्नुपर्छ । एउटा खेल खेलेपछि कम्तीमा पनि ४८ घण्टा आराम गर्नुपर्ने फिफाको नियम छ । तर माघ १२ गतेका दिन सिमरा गोल्डकपको उपाधीका लागि भिडेका विभागीय टिम त्रिभुवन आर्मी र थ्री स्टार पुनः इटहरीको मदन भण्डारी गोल्डकपमा माघ १४ गते आमनेसामने भए । खेलपछि दुवै टिमका प्रशिक्षकले निरन्तरको खेलका कारण ‘कम्प्लिट’ रेष्ट नपाउँदा अपेक्षाअनुसारको नतिजा पाउन नसकेको प्रतिक्रिया दिए ।

प्रशिक्षकहरूले आफ्ना टिमका मुख्य खेलाडीमा इन्जुरीको समस्या देखिएको बताए । खेलमा आर्मीबाट आश गरिएका स्ट्राइकर नवयुग श्रेष्ठ र र दिनेश हेन्जन देखिएनन् । राष्ट्रिय टोलीका मुख्य स्ट्राइकर नवयुग इन्जुरीका कारण शहीद स्मारक लिगमा समेत सहभागी हुन सकेनन् । त्यसपछि देशभर आयोजना भएका अन्य प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि उनी गृहनगर इलामको देउमाइमा आराम गरिरहेका छन् ।

नेपाली राष्ट्रिय टोलीका खेलाडी निरन्तर हुने प्रतियोगिताका कारण स्वास्थ्य समस्या देखिएको बताउँछन् । नाम उल्लेख नगरिदिने शर्तमा एक खेलाडीले भने, ‘खेलाडीले अपेक्षाअनुरुप प्रदर्शन गरेनन् भन्ने गुनासो छ । के हामी मेसिन हौँ र ? एउटा प्रतियोगिता खेल्ने वित्तिकै अर्कोमा लगातार खेल्नुपर्छ । रेस्ट पनि पाइँदैन ।’

इटहरीमा जारी मदन भण्डारीसहित पुस २१ गते यता ५ वटा गोल्डकप प्रतियोगिता आयोजना भए । लगत्तै आजबाट पोखरामा मनकामना केबलकार कप पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु हुँदैछ । २० गतेबाट धनकुटामा १४ औ शहीद भीमनारायण श्रेष्ठ गोल्डकप र २६ गतेबाट धरानमा २१ औ बुढासुब्बा गोल्डकप प्रतियोगिता हुँदैछन् ।

ती सबै गोल्डकपमा ए डिभिजन क्लबका पहिलो रोजाइका खेलाडी सहभागी हुनेछन् । आयोजक समितिहरू पनि प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित टिमको नै माग गर्ने गर्छन् । आयोजकका कारण पनि समस्यामा पर्ने गरिएको खेलाडीको गुनासो छ ।
एन्फाकै खेलाडी दर्ता नियमावली समेत लत्याएर एउटा खेलाडीले एकै समयमा दुई क्लबबाट गोल्डकप खेलिरहेका छन् । सिमरा गोल्डकपमा सङ्कटा क्लबमा देखिएका थ्री स्टारका पूर्व खेलाडी निराजन खड्का मदन भण्डारी गोल्डकपमा भने मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबाट खेलिरहेका छन् । तर उनी थ्री स्टार क्लबबाट रिलिज भएपछि अहिले कुनै पनि क्लबसँग अनुबन्ध भएका छैनन् ।

प्रतियोगितालाई समस्या हुने भए मिति हेरफेर हुन्छः एन्फा प्रवक्ता राई
हाल तय गरेको २३ वटा गोल्डकपको मितिबाट आयोजक र खेलाडीमा असुविधा हुने देखिए तलमाथि गर्न सक्ने एन्फा प्रवक्ता किरण राईले बताए । उनले भने, ‘हामीले भरसक गोल्डकप नजुध्ने गरी बनाउन खोजेको हो । तैपनि केही अव्यावहारिक देखिएमा आयोजनाको मिति तलमाथि पर्न सक्छ ।’

यसअघि माघ २९ देखि फागुन ११ गतेसम्म १७ औ संस्करणको आहा रारा गोल्ड कप हुने भनी एन्फाले खेल तालिका सार्वजनिक गरेको थियो । तर त्यो प्रतियोगिता पुनः पछि सरेको छ । एकै समयमा २ दिनको अन्तरालमा पोखरामा २ वटा फुटबल प्रतियोगिता हुने भएपछि आहा रारा आयोजकले उक्त प्रतियोगिता सञ्चालनको लागि मिति सार्न माग गरेको थियो । सोही मागबमोजिम एन्फा केन्द्रले फागुन ९ गतेलाई नयाँ मिति तोकेको थियो ।

फुटबल आयोजकले प्रतियोगिता सम्पन्न गर्न ५० लाखदेखि १ करोड रुपैयाँसम्मको बजेट देखाएका छन् । देशकै दोस्रो ठूलो पुरस्कार राशीको मदन भण्डारी गोल्डकप सम्पन्न हुन करिब ६५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।