इटहरीः इटहरी उपमहानगरपालिकाले आफ्नो गतिविधिको जानकारी दिने उद्देश्यले त्रैमासिक ‘पत्रिका’ बुलेटिन प्रकाशनको तयारी शुरु गरेको छ । इटहरीलाई केन्द्रबिन्दु बनाएर काम गर्दै आएका पत्रकारहरूलाई सम्पादकीय जिम्मा दिएर उपमहानगरपालिकाले बुलेटिन निकाल्न लागेको हो ।
गत पुस ६ गते बसेको नगरकार्यपालिकाको बैठकले बुलेटिन प्रकाशन गर्न सल्लाहकार समिति तथा सम्पादकीय मण्डल बनाएको थियो । उपमहानगरका आइटी प्रमुख ओसन चौधरीको संयोजकत्वमा पत्रकारहरूको टिम बनेको हो ।
मूलधारका सञ्चार संस्थाहरूमा काम गर्दै आएका अन्नपूर्णकर्मी हिमाल दाहाल ब्लाष्टकर्मी धनबहादुर पुरी, इटहरी एफएमकर्मी चेतन धमला, रेडियो नेपालकर्मी शेखर ढकाल र सूचना तथा सञ्चार साप्ताहिककर्मी सुभद्रा प्याकुरेलसहितको सम्पादकीय टिम बनाइएको छ ।
सम्पादकीय टिम बनिसकेको भए पनि बुलेटिनको विषयवस्तुको बारेमा हालसम्म छलफल गराएको छैन । बुलेटिनमा केके विषयहरू दिने र कार्यविधि कस्तो हुने भन्ने बारेमा अझै छलफल गराउन उपमहानगर सक्रिय देखिएको छैन ।
‘सम्पादकीय टिममा परेको जानकारी पत्रमार्फत पाएँ,’ अन्नपूर्णकर्मी दाहालले भने, ‘तर विस्तृत रूपमा काम कसरी गर्ने भन्ने बारेमा अहिले छलफल हुन सकेको छैन । शायद कार्यविधि बनाएर अरु काम अघि बढ्ने छन् ।’
उपमहनगरपालिकाले प्रवाह गर्दै आएको सेवा सुविधा र काम लगायतको सन्दर्भमा बुलेटिन प्रकाशन गर्न लागिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले जानकारी दिए । कार्यालयबाट प्रवाह हुने प्रचारात्मक विषयहरू मात्र बुलेटिनमा आउने छन् ।
‘कार्यालयको महत्वपूर्ण निर्णय जनतालाई अनिवार्य जानकारी दिनुपर्ने विषयहरू आउनेछन्,’ विमलीले भने, ‘कार्यालयको मुखपत्र भएकाले सम्पादकीय स्वतन्त्रता पत्रकार मित्रहरूलाई भने हुँदैन ।’
सूचनाको हकसम्बन्धी नागरिकको संवैधानिक अधिकार अन्तर्गत रहेर बुलेटिनमार्फत् सूचना प्रवाह गर्नुपर्ने कर्तव्य कानुनमै स्पष्ट छ । तर समिति निर्माण भएको १ महिना बित्न लाग्दासम्म पनि बुलेटिनको काम भने शुरु भएको छैन ।
स्पष्ट बजेट छैन कार्यालयको छपाइ खर्चबाटै ‘पत्रिका’ निस्किने
त्रैमासिक रूपमा प्रकाशन हुने उपमहानगरको बुलेटिन प्रकाशन गर्न भने स्पष्ट बजेटको व्यवस्था भएको देखिँदैन । स्पष्ट बजेट नभएको अवस्थामा उपमहानगरले कार्यालयको चालु छपाइ खर्चबाटै पत्रिका निकाल्न लागेको छ । बजेटमा स्पष्ट रूपमा बुलेटिन निर्माणमा नभए पनि सञ्चार तथा विज्ञापनमा छुट्टिएको निश्चित बजेटबाट कट्टा हुने गरी पत्रिका निकाल्न खोजिँदै छ ।
‘हामीसँग स्पष्ट बजेट छैन । छपाइ खर्च कार्यालयको साधारण छपाइ खर्चअन्तर्गत नै राखिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत विमलीले भने, ‘सम्पादकीय टिमलाई भने के कसरी व्यवस्थापन गर्ने भन्ने विषय आगामी बैठकमा छलफल गरिने छ ।’
पत्रिका प्रकाशन सल्लाहकार समितिमा नगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, प्रमुख प्रशासकीय अधिकृत केशव विमली र नगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराई रहेका छन् ।