झापाः झापाका ३ वटा स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकबल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि बढाएका हुन् ।

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले ३ वटै गाउँपालिकाको सिमाना जोडिएकाले साझेदारीमा काम गर्न सो अवधारणा ल्याइएको बताए । गाउँपालिकाको आयस्रोत न्यून भएकाले विकासका काम एक्लै भन्दा मिलेर गर्दा राम्रो हुने भएकाले मिलेर काम गर्न लागिएको उनले बताए । तीन वटै गाउँपालिकाको सहकार्यमा उपकरण खरीद, सीमा विवाद समाधान, करमा एकरूपता, ऐन–कानुन निर्माणलगायत काम गर्ने योजना रहेको बताइएको छ ।

तीन वटै तहका वनजङ्गल संरक्षण, पर्यापर्यटनको विकास र विभिन्न योजनाको गुरुयोजना तयार गर्न सहकार्य आवश्यक रहेको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए । बाह्रदशी गाउँपालकाका अध्यक्ष खड्ग राजवंशीले कार्यविधि निर्माणपछि कार्यदल बनाइने बताए ।

५ वटा वडा रहेको हल्दीबारीको जनसङ्ख्या २९ हजार, ७ वटा वडा रहेको कचनकवलको जनसङ्ख्या २९ हजार तथा ७ वटा वडा रहेको बाह्रदशी गाउँपालिकाको जनसङ्ख्या ३३ हजार रहेको छ ।