इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै पुरस्कार दिइएको छ ।
कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारबापत लैनो भैँसी प्रदान गरिएको हो । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैंसी नै पुरस्कार दिएका हुन् ।
प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलो पटक इनरुवा नगरपालिकाले ल्याएको हो । कार्यक्रममा भैँसी सुन्दरीसहित गाई सुन्दरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो ।