धरानः धरानको धनकुटे रोडका स्थानीयले चुरेफेदी सहायक राजमार्ग निर्माणका लागि भन्दै रोक्का गरिएका आफूहरूको जग्गा फुकुवा गर्न माग गरेका छन् ।
मङ्गलबार धरान उपमहानगरपालिकामा धनकुटे रोड संयुक्त उपभोक्ता सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाउँदै जग्गा फुकुवा गर्न माग गरेको हो । हालको धरान ८, १८ र १९ नम्बर वडासँग जोडिएको धनकुटे रोडबाट जाने भनिएको चुरेफेदी सहायक राजमार्ग बाइपास गर्न र रोकिएको घरजग्गा फुकुवा गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
उनीहरूले उपमहानगरपालिका घेराउ गर्दै कार्यवाहक नगर प्रमुख नरेश इवारमलाई ज्ञापनपत्र बुझाएका हुन् । सोमबार भएको धरान उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले धनकुटे रोडलाई ७२ फिट कायम गर्न सडक विभागमार्फत् मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेपछि उनीहरूले नगरपालिका घेराउ गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझदै कार्यवाहक नगर प्रमुख इवारमले सहायक राजमार्ग बाइपास भइसकेको जानकारी दिए । ‘सङ्घीय सरकारले यो सडक बाइपास गरेर अर्को डीपीआर तयार पारिसकेको छ । यो विषय अब टुङ्गिएको छ,’ उनले भने, ‘रोक्का रहेको जग्गा फुकुवा गर्ने सम्बन्धमा जानकारहरूसँग राय लिएर मन्त्रालयलाई पत्राचार गर्न पहल गर्छु ।’
उनका अनुसार सोमबारको कार्यपालिका बैठकले धनकुटे रोडलाई सडकको मापदण्ड अनुसार ७२ फिट कायम गर्न निर्णय गरेको छ ।
‘यो धरानको मात्र निर्णय होइन । सङ्घीय सरकारले तय गरेको निर्णय हो । सडकमा तोकिएको मापदण्ड पूरा हुनुपर्छ भन्ने हाम्रो धारण हो’, उनले भने । धनकुटे रोडबाट चुरेफेदी सहायक राजमार्ग निर्माण गर्ने भन्दै सङ्घंीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनमा सो क्षेत्रका जग्गाहरू रोक्का राखेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले जग्गाको फुकुवा मन्त्रालयबाटै हुनुपर्ने बताए ।
‘यो हामीबाट रोक्का भएको होइन । मन्त्रालयले गरेको हो । मन्त्रालयबाटै फुकुवा हुनुपर्छ’, उनले भने, ‘हामीले फुकुवा गर्न मिल्दैन ।’ उनले सहायक राजमार्ग बाइपास भएको सुन्नमा आए पनि लिखित जानकारी नआएको बताए ।
सङ्घर्ष समितिका संयोजक निनान्द्र राईले उपमहानगरपालिकाले नियतवश आफूहरूलाई समस्यामा पारेको बताए । उनले सडक बाइपास भएको र जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी उपमहानगरपालिकाले लिखित रूपमा आफूहरूलाई दिनुपर्ने माग गरे ।